धनगढी।धनगढी उपमहानगरपालिका देशकै उत्कृष्ट उपमहानगरपालिकाका घोषणा भएको छ ।
गत आर्थिक वर्ष (२०७८÷०७९) मा उत्कृष्ट कार्य गरेबापत धनगढी उपमहानगरपालिका पुरस्कृत हुन लागेको हो । गत आर्थिक वर्षमा धनगढी उपमहानगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा राम्रो काम गरेको भन्दै नेपाल नगरपालिका संघले धनगढीलाई उत्कृष्ट नरपालिका पुरस्कार प्रदान गर्न थालेको हो ।
‘अघिल्लो आर्थिक वर्षमा आफू मेयर भएकै बेला देशभरमै उत्कृष्ट कार्य गरेको परिणाम अहिले आएर देखियो,’ निवर्तमान मेयर नृपबहादुर वडले भने,‘तत्कालीन जनप्रतिनिधि र कर्मचारीको मिहिनेतका साथै कर्मचारीले सेवा प्रवाहमा गरेको राम्रो कामको मूल्याङ्कन भएकै कारण आज देशभरमै धनगढी उत्कृष्ट बनेको छ ।’
आफ्नो कार्यकालको अन्तिम वर्षमा पनि देशभरमै उत्कृष्ट नगरपालिका बनाउन सफल भएको भन्दै तत्कालीन जनप्रतिनिधि र कर्मचारीलाई उनले धन्यवाद दिएका छन् । गत वैशाख ३० गतेको निर्वाचनमा पुनः मेयर पदमा उम्मेदवार बनेका वडलाई गोपाल हमालले पराजित गरेका थिए । हमालले धनगढी उपमहानगरपालिकाको कार्यभार गत जेठ ९ गतेदेखि सम्हालेका हुन् ।