वाणिज्य बैंकहरुले प्रिमीयममा ५ प्रतिशतको क्याप तोकेर ब्याज घटाउने निर्णय गर्दा पनि उद्योगी तथा व्यवसायीहरु सडकमा आउन छाडेनन् । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालको संयोजकत्वमा शनिबार मात्रै बनेको ‘बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति’ आज आइतबार जिल्ला उद्योग वाणिज्य सङ्घहरुसहित ४८ व्यवसायिक सङ्गठनलाई माइतीघरमा उतारेर ब्याजदर, चालू पुँजी कर्जा मार्गदर्शन र मौद्रिक नीतिको विरोधमा उत्रियो ।
आन्दोलनलाई कतिपयले नेपाल उद्योग वाणिज्य महासङ्घको चैत अन्तिममा हुने साधारणसभा र निर्वाचनसँग जोडेर पनि हेर्ने गरेका छन् । निर्वाचनमा जिल्ला उद्योग वाणिज्य सङ्घहरुको भोट तान्ने रणनीति भनेर पनि अथ्र्याउने गरिएको पाइन्छ ।
यही सेरोफेरोमा रहेर सङ्घर्षको नेतृत्व गरेका रिजाललाई आन्दोलनस्थलमै गरेको केवल तीन प्रश्नमाथिको सम्पादित अंश:
ब्याज त घट्न थाल्यो, फेरि तपाइँहरु के–का लागि सडकमा ?
खासमा एकल अङ्कमा ब्याजदर कायम हुनुपर्छ । चालू पुँजी कर्जा मार्गदर्शन आजको आवश्यकता होइन, यसलाई तत्कालका लागि खारेज गरिनुपर्छ, प्रिमीयम दर २ प्रतिशतभन्दा बढी हुनु भएन, प्रिमियम दर बढी हुँदा डबल डिजिटमा पनि १६, १७, १८ प्रतिशतसम्म ब्याजदर पुगेको छ । बैंकहरुले थोरै लगानीमा पनि ठूलो मुनाफा आर्जन गरेर अर्थतन्त्र जुन धरासायी भइरहेको छ, उद्योगी व्यवसायीहरु चाहिँ ऋण तिर्न नसकेर आत्मदाह गर्नुपर्ने बाध्यतामा पुगेका छन्, यस्तो अवस्थाको अन्त्यको मागसहित हामी सडकमा आएका हौँ ।
बैंकर्स सङ्घले क्रमशः ब्याज घट्दै जान्छ भनेकै छ, विश्वास छैन हो ?
कतिबाट कति घट्यो भनेर हेर्नुपर्छ । १२ प्रतिशत बेस रेट पुर्याएर ५ प्रतिशत, ६ प्रतिशत प्रिमियम जोडेर १७, १८ प्रतिशत पुर्याएर १ प्रतिशत घटाउनु उपर्युक्त हुन्छ ? मलाई एउटा कुरा राष्ट्र बैंक र बैंकर्स साथीहरुले बताइदिउन्, १६, १७ प्रतिशत ब्याजमा ऋण लिएर औद्योगिकरण सम्भव हुन्छ ? पक्कै पनि हुँदैन । यसकारण मुद्दाहरु एकातिर छन्, अर्कोतिर डोहोर्याउन हुँदैन । ब्याज घटाएजस्तो गरेर एउटा ललिपप दिए जस्तो मात्रै हो । हामीले संस्थागत ब्याजदरलाई यथाशिघ्र कम गरियोस्, प्रिमियम दरलाई २ प्रतिशतमा झारियोस्, अन्य शुःल्कहरु पनि घटाइयोस् । यस्तो भयो भने मात्रै औद्योगिकरण सम्भव छ । यस्तो भयो व्यवसायीले आत्मदाह गर्नुपर्ने स्थिति आउँदैन भन्ने मेरो बुझाई हो ।
तपाइँहरुको आन्दोलनलाई महासङ्घको आसन्न निर्वाचनसँग जोडेर हेर्न थालिएको छ, जिल्ला, नगर उद्योग वाणिज्य सङ्घबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई नेतृत्वमा पुर्याउन सडक सङ्घर्षको प्रपञ्च रचेको आरोप छ नी ?
हामी एक वर्षदेखि सडक सङ्घर्षमा छौँ । यो भन्दा अगाडि हामीले विराटनगरदेखि काठमाडौँसम्म आन्दोलन गरेका छौँ । अवस्था यो हो है, अब देशव्यापी आन्दोलनमा जानुपर्छ भनेर देशैभरीका साथीहरुलाई हामीले नै अनुरोध गरेका हौँ । हाम्रै अनुरोधमा देशव्यापी रुपमा साथीहरु ३ महिना, ४ महिनादेखि आन्दोलनमा हुनुहुन्छ ।
रिजल्ट अझै आएन है, अब के गर्ने भनेर हामी देशैभरीका साथीहरुबीच छलफल भयो । छलफलले अब केन्द्रिकृत रुपमा आन्दोलन गरेर हाम्रा मागहरु सम्बोधन गराउनुपर्छ, राज्यलाई सुनाउनुपर्छ भनेर आज एकिकृत भएका हौँ । आन्दोलन र एफएनसीसीआइको चुनावबीच कुनै सम्लग्नता छैन । यहाँ आउनु भएका साथीहरु कोही–कसैमा पनि त्यो सोच छैन ।
एफएनसीसीआइका साथीहरु प्रदेश र जिल्लाका चुनावमा गएर आफ्नो उपस्थिति देखाइरहनु भएकै छ । बाहिर रहनु भएका साथीहरु पनि हाम्रो आन्दोलनमा आउनुहुन्छ । भोलिदेखिको आन्दोलनमा अझ बढी उद्योगी व्यवसायीहरु सहभागी हुनुहुनेछ ।
बिजपाटी