धनगढी । समाचार लेखिएको बिषयमा धनगढीका एक पत्रकार माथि साङ्घातिक आक्रमण भएको छ । धनगढी खबरका पत्रकार शेर बहादुर ऐरमाथी समाचार लेखिएको बिषयमा आक्रमण भएको हो ।
शनिवार राति ९ बजे धनगढीको रुबस होटलमा उनीमाथि आक्रमण भएको हो । धारिलो हतियारले उनीमाथि प्रहार हुँदा उनको टाउकोमा गहिरो चोट लागेको छ ।
धनगढी खबरसँग आबद्ध ऐरले पछिल्लो केही दिन देखी मेडिकल माफिया र अवैध फार्मेसीका विरुद्ध निरन्तर समाचार लेखिरहेका थिए । सोही विषयलाई लिएर आक्रमण गरिएको हुन सक्ने आकलन गरिएको छ ।
पत्रकार ऐर माथि भएको आक्रमणलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ ।
धनगढी खबर डटकमका सम्पादक हरि जोशीले एक विज्ञप्ति जारी गर्दै ऐरमाथि भएको कुटपिटको निन्दा गरेका छन् ।अपरिचित अज्ञात व्यक्तिले कुटपिट गरेको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीमा ल्याउन उनले माग गरेका छन् ।
पत्रकार माथि भएको घटनाका विरुद्ध विभिन्न सङ्घ सङ्गठनले पनि भर्सन गर्दै दोषी माथि कारबाहीको माग गरेका छन्।
योजना बद्ध तरिकाले गरिएको आक्रमणलाई लिएर नागरिक दैनिकका पत्रकार दिल बहादुर छत्यालले चिन्ता ब्यक्त गरेका छन् । मेडिकल माफियाले सेटिङ मिलाएर फार्मेसी, अस्पतालमा गरिरहेका बिकृति, बेथिती, ब्रम्ह लुट र अपराधिक कृयाकलाप झल्किने समाचार प्रकाशित गरेरै पत्रकार ऐरमाथि आक्रमण भएको उनले बताएका छन् । " रुबस होटेलमा जमघट भएका अस्पताल संचालक, फार्मेसी संचालक लगायतले सबैका अगाडि खुल्लम खुला हाम्रा बारेमा लेख्ने त्यो पत्रकारको टाउको फुटाउनु पर्छ, हात काट्नु पर्छ भन्नू र सांझ रुवस होटेलकै कार्यक्रममा सहभागी तिनै पत्रकार ऐर राती ९ बजेतिर एकाएक टाउकोको पछाडी ५ टाँका लाग्ने गरि गम्भिर चोट लागेर बेहोस अवस्थामा अस्पतालमा भर्ना हुनु हावा आउनु र रुख ढल्नु मात्र हो कि अरु केही रहस्य हो ? यो खुल्दै जाला ! तर अस्पतालमा उपचार नसकिँदै, घटनाको छानबिन नहुँदै प्रहरी टोलीकै अघि माफियाहरूको सेटिङमा अस्पतालले लडेर टाउकोमा चोट लागेको भनेर रिपोर्ट लेख्न गरेको प्रयासले सेटिङमा कति हदसम्म चलखेल हुन्छ भन्ने नाङ्गो रुप देखियो । पत्रकार ऐरको टाउकोमा लागेको चोटको कारण छानबिनबाट निस्केला ! तर चलखेल र सेटिङमा जस्तोसुकै घटनालाई पनि ढाकछोप गर्न कति छिटो कसरत हुन्छन भन्ने कुरो चाहिँ त्यो भन्दा ठूलो अनुसन्धान र चिन्ताको बिषय छ ।" उनले भने ।
स्वास्थ्य क्षेत्रमा भएको बेतिथि बिरुद्ध विगतदेखि नै समाचार लेख्दै आएका पत्रकार ऐर माथि भएको आक्रमणलाई लिएर पत्रकार पुष्प जोशीले पनि आपत्ति जनाएका छन् । " स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक कै जमघटकै बीचमा भएको सुनियोजित आक्रमणको निन्दा गर्दै दोषी माथि कारबाहीको माग गर्दछु ।" उनले भने ।
उक्त घटनालाई लिएर प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले पनि निन्दा व्यक्त गरेका छन् । " अनियमितता,अख्तियारको दुरुपयोग, गैरकानुनी कार्य र ज्यादतीका विरुद्ध निडर भएर कलम चलाउने पत्रकार माथी होटलमा सुनियोजित रुपमा आक्रमण भएको छ दोषीलाई हदैसम्म कार्वाही होस कारबाहीको दायरामा दोषीलाई तुरुन्तै ल्याइयोस् ।" प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्ष भानुभक्त आचार्यले पनि पत्रकार माथि यस किसिमका घटना घट्नु निन्दनीय भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुल देव चन्दका अनुसार इन्स्पेक्टरको टोलि उक्त घटनाको अनुसन्धानमा खटिएको छ । सयौं डाक्टरहरुको कार्यक्रममा केहि कुरा नमिल्दा तितरबितर भएको हुनसक्ने डीएसपी चन्दले बताए । उनले चाडै घटनाको अनुसन्धान गरेर वास्तविक कुरा बाहिर ल्याउने बताए ।
जिल्ला प्रशासन कार्यालयले उक्त घटना भएको होटलको सिसिटिभी फुटेज हेरेर मात्र आक्रमण भए नभएको पुस्टि हुने बताएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सुरक्षा निकाय देखि अनुसन्धानमा आवस्यक सबै चिजको प्रबन्ध मिलाएको र फुटेज हेरेपछि मात्र घटनाको बारेमा थाह हुने बताए ।