धनगढी।कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ की सकुनीदेवी चौधरीले किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट घर जग्गाको धितो राखेर आठ लाख ऋण लिएकी थिइन् ।ऋण लिए वापत उनी नियमित रुपमा व्याज तिर्दै आइरहेकी थिइन् । उनको सात लाख रुपैयाँ तिर्न अझै बाँकी छ । तर अलिहे उनले ऋण नियमित तिर्न सकिरहेकी छैनन् । लघुुबित्तीय संस्थाहरुले भोलिपर्सी वा अर्को महिना तिर्छु भन्दा मान्दैन । ‘सहकारीका व्यक्ति जसरी भएपनि एक घण्टा भित्रै वा आजै किस्ता तिर्नु भनेर घरमै आउँछन्’ उनी भन्छिन् ।’
उनका छोरा कामको सिलसिलामा भारतमा छन् । भनेको बेला छोराले पैसा पठाउन नपाएपछि सहकारीले भनेकै दिन किस्ता तिर्न समस्या हुने गरेको उनको दुखेसो छ । ‘घर जग्गा बेचेर भएपनि तुरुन्तै किस्ता तिर भन्छन्’ उनी भन्छिन् । महंगो व्याजदर, त्यसैमाथि सहकारी तथा लघुबित्त वित्तीय संस्थाहरुले भनेकै बेला किस्ता तिर्न नपाएपछि चौधरी जस्तै यहाँका अन्य महिलाहरुको अवस्था त्यस्तै छ ।
धनगढी उपमहागनरपालिका वडा नम्बर १८ फूलबारीकी कल्पना कामीले किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट तीन लाख रुपैयाँ ऋण लिएकी थिइन् । छोरीको उपचारका लागि ऋण लिएकी उनले न छोरीलाई बचाउन सकिन् न ऋण तिर्न सकिनन् । उनलाई ऋणको व्याजसमेत तिर्न समस्या भयो । किस्ता तिर्न धौ–धौ भइरहेका बेला सहकारीका व्यक्तिले घरमै आएर गर्ने ताकेताले उनी समस्यामा छिन् ।
‘चितवनबाट छोरीको लास ल्याएर घरमा आएका बेला पनि सहकारीले जसरी पनि तिर्नुपर्छ भन्यो,’ उनी भन्छिन्, ‘आफू पीडामा भएका बेला हातमा पैसासमेत नभएपछि समूहका महिला दिदीबहिनीले पैसा उठाएर दिए ।’ रको आँगनमा लास भएपनि सहकारीले किस्ता नतिर्दासम्म सुख नपाइने उनको दुखेसो छ ।
फूलवारीकै भुन्टी बिकले सुरुमा सहकारीका मान्छेहरुले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर समूहमा आवद्ध गर्दै ऋण दिएपनि असुल गर्ने बेला अमानवीय व्यवहार गर्ने गरेको बताइन् ।
‘प्रत्येक महिना किस्ता तिरिरहेका महिलाहरुले एक दिन किस्ता नतिर्दा पनि दिनभरीमा जहाँबाट भएपनि लिएर आउ भन्दै दबाव दिन्छन्,’ उनी भन्छिन्, ‘हामीले नतिर्ने भनेका छैनौं तर अर्को दिन तिर्छौं भन्दा पनि मान्दैनन् ।’ सहकारीकै ऋण तिर्न अन्य व्यक्तिबाट सयकडा पाँच रुपैयाँ ऋण लिएर पनि तिर्नुपरेको उनको भनाइ छ । उनले पनि किसान बहुउद्देश्यीय सहकारीसहित अन्य सहकारी तथा लघुवित्तीय संस्थाहरुबाट ऋण लिएकी छन् ।
बचतकर्तामाथि सहकारी संस्थाहरूले किस्ता तिर्न दबाब दिइरहेको भन्दै सहकारी संस्थामै गएर तोडफोडमा उत्रिन बाध्य हुने र सहकारी तथा लघुवित्त जस्ता सहकारी संस्था खारेज गर्नुपर्ने उनीहरुको माग छ । पाँच वर्षदेखि सहकारी तथा लघुवित्तीय संस्थासंग जोडिएकी सोही ठाउँकी सितादेवी चँदराले पनि ऋण लिएकी छन् । छिमेक, निर्धन, किसान बहुदेश्य सहकारी संस्थामा ऋण लिएकी चँदराले लगातार ऋणको किस्ता तिर्दै आइरहेकी छन् ।
‘घरमा श्रीमान् बिरामी हुँदा पैसा नहुँदा किस्ता रकम केही समयपछि तिर्छु भन्दा पनि मानेन्’ उनले भनिन् । अन्य महिलासँग ५ प्रतिशत ब्याज लिएर किस्ता तिरिरहेको भन्दै उनले ऋण लिएर आफूहरुलाई फाइदा भन्दा घाटा भएको बताइन् । सहकारी संस्थाको ऋण मिनाहा र यस्ता सहकारी संस्थाहरू खारेज गर्नुपर्ने उनले बताइन् ।
पुनमदेवी थापा मगरले आफूसँग गाउँका सबै दिदीबहिनीलाई सहकारी संस्थाले दुःख दिएको बताइन् । गरिब दुखी परिवारका महिलाहरूले खाई नखाई कमाएको पैसा लगानी गरेर ऋणको किस्ता तिरेको बताइन् । सहकारी सञ्चालक र कर्मचारीको पैसा नखाएपनि आफूहरूले लिएको ऋणको सदुपयोग गरेको र किस्ता रकम तिर्दै गैरहेको उनले बताइन् । सहकारी संस्थामा ताला लगाउन र आन्दोलन गर्न बाध्य हुने उनको भनाइ रहेको समाचार हामीले बिन्तीपत्रबाट लिएका हौ ।