धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित मुख्य सडक छेउमा रहेको छ रोहित मेडिकल हल । त्यसको पछाडी एउटा कोठा छ । कोठामा भेटिन्छन ‘डाक्टर मिठ्ठु स्वाँर ।’ कोठामा एउटा भिडियो एक्सरे रहेको छ । त्यही उपकरणबाट त्यहाँ आउने गर्भवति महिलाको भ्रुण चेकजाँच गर्ने गरेका छन् । गर्भमा रहेको छोरा छोरीको पहिचान गराउन अग्रसर रहेका डाक्टर स्वाँर कञ्चन मेडिकलमा कार्यरत हुन् । अहिले उनको मेडिकलको भवन भत्किएपछि रोहितमा बस्न लागेको मेडिकल सञ्चालक भरत कुँवरले जानकारी दिए ।
उनले भने –‘उनको भवन भत्किएपछि केही दिनलाई बस्न कक्ष दिएका हौं । त्यहाँ मेसिन छ तर, भ्रुण चेकजाँच गर्नेबारे मलाई थाहा छैन् ।’ डाक्टर स्वाँरकोमा दैनिक जसो ६ देखि १० जना विरामीहरु चेकजाँचका लागि जाने गरेका छन् । उनले भने –‘कोठाभित्र के हुन्छ हामीलाई थाहा भएन् ।’
सरकारले भ्रुण चेकजाँचलाई अवैध भनेको भएपनि नियमन निकायले अनुगमन नगर्दा क्लिनिकमा चिकित्सकहरुले भ्रुण चेकजाँच कमाउने व्यवसायी बनाईरहेका छन् । केही वर्षअघि यहाँ स्वास्थ्य क्षेत्रमा उपकरणको विकास नहुँदा यहाँका मानिस भारतका विभिन्न स्थानमा गएर भ्रुण पहिचान गराउने गरेका थिए । अहिले यतै धेरै क्लिनिक संचालन तथा उपकरणहरु थप भएपछि सुदूरपश्चिमका पहाडि जिल्लाका मानिस पनि भ्रुण पहिचान गराउन कैलाली पुग्ने गरेका छन् ।
यो समाचार शेर बहादुर ऐरको बाइलाइनमा धनगढी खबरमा ‘भ्रुण पहिचान गर्ने डाक्टर स्वाँर’ शीर्षकमा प्रकाशित भएको छ ।