धनगढी । धनगढीमा जारी सुचना प्रविधि मेला (क्यान इन्फोटेक)मा एसपीए कलेजको स्टल आकर्षण बनेको छ । स्टलमा एसपीएका विद्यार्थीहरुले बनाएको उपकरण तथा प्रविधि नियाल्नेहरुको दैनिक भीडभाड देखिएको हो ।
एसपीए कलेजले आफ्ना विद्यार्थीहरुले बनाएका विभिन्न एकदर्जन उपकरण तथा प्रविधिहरु क्यान इन्फोटेकमा प्रदर्शनीमा राखेको छ । जसमा सस्तो किताब डटकम, वान डोर लेखापढी सिस्टम, स्मार्ट डस्टबिन, ग्यास लिकेज डिकेक्टर, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, इलेक्ट्रिक बाइकलगायत छन् ।
सस्तो किताब डटकम मुख्य गरी पढ्न मिल्ने पूराना पुस्तकहरु किनबेच गर्नसकिने माध्यम हो । कम आए भएका र महँगा किताब किन्न नसक्ने विद्यार्थीहरु लागि यो महत्वपूर्ण भएको छ । जो कसैले पनि आफूसँग भएका पूराना पढ्न मिल्ने पुस्तकहरु वेवसाइटमा राख्न सक्छन । त्यहाँबाट जसलाई चाहिएको हो उसले सस्तो मुल्यमा किताब पाएका छन् । यो सिस्टमको विकास एसपीएका विद्यार्थीहरु पवन अवस्थी, यज्ञराज कडेँललगायतले विकास गरेका हुन् ।
यस्तै एसपीएका विद्यार्थीहरु अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले बनाएको भ्वाइस कन्ट्रोल अपलाइन्सेसमा पनि मानिसहरुको रुचि देखिएको छ । उक्त उपकरणको माध्यमबाट बोलीकै भरमा बत्ती, पंखा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।
‘मुख्यगरी शारिरिक अपांगता भएका व्यक्तिहरु माथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्वीचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरुको सहजताका लागि हामीले यो उपकरणको डिजायन गरेका हौं । यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलोक्ट्रोनिक्स डिभायसहरु अन–अफ गर्न सकिन्छ ।’
यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्वीच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरुबाट पनि जोगिन मद्दत पुग्नेछ ।
यस्तै एसपीएकै विद्यार्थी सोहन कैनीले बनाएको ‘सवारी एस ५’ इलोक्ट्रिक बाइक विथ फिंगरपिन्ट प्रदर्शनी राखिएको छ । सोहनले बनाएको सवारी एस ५ एकपटकमा चार्ज गरेमा ५० देखि ६० किलोमिटर कुद्न सक्छ । ब्याट्रीको पावर बढाएर बाइक अझै धेरै कुद्न सक्ने उनी बताउँछन् । त्यसबाहेक इलोक्ट्रिक बाइक भएकाले यो वातावरणमैत्री पनि छ । औलाको सेन्सरले सजिलै अन गर्न सकिन्छ ।‘मैले सबै पुनः प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरेर यो बाइक बनाएको हुँ । माइलेजको पनि समस्या छैन । ब्याट्रीको पावर बढाउँन चाहे अझै बढी कुद्छ,’ सोहनले भने । यसअघि उनको यो बाइक काठमाडौंसहित देशका अन्य भागमा पनि प्रदर्शनमा आइसकेको छ । एसपीएका विद्यार्थीहरू नरेश विष्ट, ललितराज जोशी, रमेश बोहरा र सन्तोष लुहारले स्मार्ट डस्टबिन प्राजेक्टको विकास गरेका हुन् । सेन्सरउक्त उक्त स्मार्ट डस्टबिनको ढोका मानिसहरू नजिक जादा आफैँ खुल्ने र डस्टबिनबाट टाढा जादा आफै बन्द हुने हुन्छ । ‘डस्टबिनमा फोहोर चिजबस्तु फाल्ने गरिन्छ । हातले छोएर ढक्कन खोल्नुपर्दा त्यसमा भएका किटाणुहरू हातमा टासिने हुनसक्छ । त्यसबाट रोगब्याधी फैलने सम्भावना हुन्छ,’ प्रोजेक्टमा काम गरेका विद्यार्थी ललितले भने, ‘हाम्रो स्मार्ट डस्टबिनको प्रयोगबाट ढक्कन छुन पर्दैन । मानिसहरू फोहर फाल्न नजिक जाँदा आफै खुल्छ भने मानिसहरू डस्टबिनबाट टाढा जादा आफै बन्द हुन्छ । आफैँ बन्द हुने भएकाले डस्टबिनको गन्ध वातावरणमा पनि फैलन पाउँदैन ।’यस्तै एसपीएमै बीआईएम छैटौं सेमिस्टरमा अध्ययनरत् अरुनिमा कठरिया तथा पहिलो सेमिस्टरमा अध्ययनरत् दीपिका जोशी र पुजा साहले बनाएको प्रोजेक्ट ‘वान डोर लेखापढी सिस्टम’ पनि अवलोकन कर्ताले रुचाएका छन् ।
यस सिस्टमको माध्यमबाट मानिसहरुले आफ्नो तथ्य भरेकै आधारमा लेखापढीबाट गरिने सम्पूर्ण निवेदन, मुचुल्का, सिफारिस, तमसुक एकैछिनमा तयार हुन्छन् । यसका माध्यमबाट नापी, मालपोत, नगरपालिका, लगायत सरकारी कार्यालयमा अब मुचुल्का, तमसुक, सिफारिस, निवेदन बनाउँन पैसा तिुर्नपर्दैन । यस्तै ग्यास लिकेज प्रविधिको विकास प्रकाश नेपालीलगायत विद्यार्थीहरुले गरेका हुन् । किचेनमा ग्यास लिकेज भएको अवस्थामा उक्त प्रविधिले जनाउँ घण्टी बजाई दुर्घटनाबाट जोगाइदिन्छ । एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रविन्द्र रानाले सहयोगमा विधार्थीहरुले यी सबै प्रविधि र सिस्टमहरुको विकास गरेका हुन् । कार्यक्रम निर्देशक पुनले एसपीएले विधार्थीहरुले शैद्धान्तिक ज्ञानसँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए । ‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु दत्तचित्त भएर लागेका छन् । उनीहरुलाई आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउँने संकल्पका साथ एसपीए अघि बढेको छ ।’