कैलाली । कैलालीका बैंक तथा वित्तीय संस्थाहरुले ब्याज घटाउनुपर्ने माग अघि सार्दै ब्याजदर विरुद्ध व्यवसायीहरु सडकमा उत्रिएका छन् । मंगलबार कैलालीको धनगढी लगायतका बजार बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
बजारका सबै पसल बन्द गरिएको छ। बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरिएको व्यवसायीहरुले बताएका छन्। चर्को ब्याजदरका कारण व्यवसायबाटै विस्थापित हुने अवस्था सिर्जना भएको भन्दै त्यसको विरोधमा व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।
व्यवसायीहरुले ब्याजदर घटाउनुपर्ने, ऋणको किस्ता र ब्याज तिर्ने समय बढाउनुपर्ने लगायतका माग सुदूरपश्चिम प्रदेशका व्यवसायीले अघि सार्दै बुधबार र विहिबार समेत पसल बन्द गरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय बैंक अगाडि धर्ना दिने कार्यक्रम राखेका छन्। सोही अनुसार बिहान ११ बजेसम्म सम्पूर्ण पसलहरु बन्द गरी व्यवसायीहरु सडकमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा व्यवसायीहरुले ‘बैंकको ब्याजदर एकल बिन्दुमा कायम गर’, ‘बैंकिङ आतंक बन्द गर’, ‘व्यापारी मार्न पाईंदैन’, ‘बैंक हामीलाई प्यारो हो , ब्याज वृद्धिले गाह्रो भो’ लगायतका पम्प्लेटसहित नाराबाजी गरेका थिए । त्यस्तै, पछिल्लो समय चर्को ब्याजका कारण व्यवसायी मर्कामा परेको र सरकारले त्यसको समाधान नखोजे आन्दोलन थप चर्काउने व्यवसायीहरुले चेतावनी समेत दिएका छन् ।
आन्दोलनमा उत्रिएका व्यवसायीले कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनु पर्ने र कर्जाको ब्याजदर पुनर्संरचना गर्नुपर्ने लगायतका माग राखेका छन्। आन्दोलनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, व्युटि पार्लर व्यवसायी संघ, तरकारी तथा फलफुल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसियसनले एक्यवद्धता जनाएका थिए।