अज्ञात रोगका कारण कुखुरा मर्न थालेपछि फूलवारीका किसान चिन्तित

फूलवारी ।कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा अज्ञात रोगका कारण कुखुरामा मर्न थालेपछी किसानहरु चिन्तित भएका छन् । उपमहानगरको वडा न.१४,१८ र १९ फूलवारी क्षेत्रका किसानले पालेका लोकल कुखुरा मर्न थालेका छन् । कुखुरा झोक्राउने, मुखबाट र्याल निकाल्ने, दाना पानी नखाने र एक दुई दिन भित्र मर्ने रोग देखिएपछि किसानहरु चिन्तित भएका हुन् ।
धनगढी १९ आइ गाउँका स्थानिय रामचन्द्र आचार्यले आफुले घरमा पालेका एक दर्जन भन्दा बढी कुखुरा केहिदिनको अन्तरालमा मरेका बताए । उनले कुखुरा सुरुमा झोक्राउने, दाना पानी नखाने, मुखबाट र्याल निकाल्ने र केही समय भित्र कुखुरा मर्ने समस्या देखिएको बताए । उनले स्थानीय भेटनरीबाट औषधि ल्यायर खुवांउदा पनि कुनै असर नगरेको बताए ।
फुलवारीका अर्का किसान सपना ऐडिले आज सम्म अज्ञात रोगका कारण आफुले पालेका २५ भन्दा बढी कुखुरा मरिसकेको बताइन् । उनले उपचार गर्दा पनि सन्चो नहुने रोगका कारण खुकुराको खोर नै खाली हुने अवस्थामा पुगेको बताइन् ।आफुले दुख गरेर पालेका कुखुरा रोगका कारण मर्न थालेपछि सारै चिन्तित भएको बताइन् ।
स्थानिय किसानले रोग तीब्ररुपमा गाउँभरिका कुखुरामा फैलिरहेको र कतिपय मानिसले रोगलागेका कुखराको मासु खाने गरेकाले रोग मानिसमा पनि सर्ने जोखीम भएकाले सरकारलाई रोग पत्ता लगाएर औषधि उपचारको व्यवस्था गर्न माग गरेका छन् ।