सेकेण्ड हेण्ड सामान किन्न पल्केको पालिका जहाँ एक लाखको सामान किन्दा ७० हजार गायव !

कैलाली । जिल्लाकाे चुरे गाउँपालिकाले कृषि सामग्री खरिदमा अनियमितता गरेको खुलासा भएकाे छ । गाउँपालिकाले सुन्तला तथा फलफूल खेती गरिरहेका किसानका लागि खरिद गरेको सामग्रीमा अनियमितता गरेको खुलासा भएकाे हाे ।
पालिकाको कृषि शाखाले किसानका लागि खरिद गरेको क्रेट (तरकारी तथा फलफूल राख्न प्रयोग गरिने बकेट) खरिदमा अनियमितता गरेको तथ्य बाहिर आएको हो । पालिकाले एक लाखको बजेटमा किसानका लागि भनेर गत पुसमा ५७३ वटा सेकेण्ड हेण्ड तरकारी तथा फलफूल राख्न प्रयोग गरिने बकेट खरिद गरेकाे थियाे । त्यसमा पनि गाउँपालिकाले ७० हजार घोटला गरेको पाइएकाे हाे ।
बजारमा प्रतिक्रेट नयाँ थोकमा १५० देखि २ सय रूपैयाँसम्म पर्दछ । प्रतिक्रेटको २०० मूल्य परे पनि १ लाख बजेटमा ५०० वटा खरिद गर्न सकिन्छ । तर, गाउँपालिकाले लोकप्रियता कमाउनका लागि बजारमा प्रयोगविहीन अवस्थामा बिक्री नै नभएर रहेका सेकेण्ड हेण्ड क्रेट खरिद गर्याे । बजारमा सेकेण्ड हेण्ड प्रतिक्रेटको ५० देखि एक सय रूपैयाँ पर्न जान्छ ।
पालिकाले खरिद गरेको सेकेण्ड हेण्ड क्रिट पनि कामै नलाग्ने टुटेफुटेका छन् । यसबाट पनि पुष्टि हुन्छ की गापाउँपालिकाले १ लाखको सामग्री खरिद गर्दा ७० हजार सोझै घोटला गरेको देखिन्छ ।
गाउँपालिकाले बजेट अभावमा सेकेण्ड हेण्ड क्रेट खरिद गरेको बताउँदै आएको छ । गाउँपालिकाले धनगढीको किसन एग्रोभोटबाट प्रयोगविहीन अवस्थामा रहेका सेकेण्ड हेण्ड क्रेट खरिद गरेकाे बताएकाे छ । एक कार्यक्रमका बीच पालिकाभरिका किसानलाई साे हेण्ड क्रेट वितरण गरिसकेकाे छ । तर, केही किसानले भने त्यो सेकेण्ड हेण्ड क्रेट लिएनन् ।
पालिकाले वितरण गरेको कृषि सामग्रीप्रति चुरेका किसान नै सन्तुष्ट छैनन् । उनीहरू भन्छन्, ‘पालिकाले किसानको समस्या समाधान गर्ने भन्दापनि सस्तो लोकप्रियता कमाउनका लागि आँखामा छारो हाल्न खोजियो ।’ चुरेका जनप्रतिनिधि र कर्मचारीले किसानको समस्यालाई आफ्नो व्यापार गर्ने अस्त्र बनाएको उनीहरूको आरोप छ ।
एक किसानले नाम नबताउने सर्तमा भनेका छन्, ‘चुरे गाउँपालिकाले किसान लक्षित कार्यक्रम अन्र्तगत खरिद गरिएको भनिएका ५७३ वटा क्रेटहरू अत्तरिया र धनगढीको सब्जीमण्डीबाट उठाइ लिएर किसानलाई वितरण गरेजस्तो देखिन्छ ।’ उनले चुरेका जनप्रतिनिधिले लोकप्रियताका लागि किसानहरुको समस्यालाई मजाक बनाएको आरोप लगाएका छन् ।
त्यस्तै, अर्का किसानले पनि खेतीपाती गर्नेहरूका समस्या जनप्रतिनीधि र कर्मचारीका लागि कमाइ गर्ने अस्त्र बनेको आरोप लगाएका छन् । उनले भने, ‘चुरे सुन्तलाको पकेट क्षेत्र हो । हामीले सुन्तला खेतीबाट वार्षिक लाखौं रकम आयआर्जन गर्दछौँ । हाम्रो मुख्य समस्या क्रेट होइन । मल, सिंचाई र सुन्तलामा लाग्ने रोग हो ।’
उनले हाम्रो समस्या मल, सिंचाई र फलफूलमा लाग्ने रोग भएको जानकारी गराउँदा पनि यस विषयमा पालिका बेखबर जस्तै भएको दु:खेसो सुनाए ।
यता, निगाली कृषि सहकारी संस्थाका अध्यक्ष तीर्थराज जोशीले पालिकाले कृषि सामग्री खरिद गर्दा पालिकाभित्र रहेका कृषि सहकारीलाई जानकारी गर्नुपर्ने बताए । उनले भने, ‘कृषि सहकारीले किसानका समस्याहरूलाई प्रत्यक्षरूपमा अनुभूति गरेका हुन्छ । कृषि सहकारी किसानका समस्यासँग प्रत्यक्ष घुलमिल हुन्छ । त्यसैले पनि कृषि सामग्री खरिद गर्दा हामीसंग पनि समन्वय गर्नुपर्ने हो ।’
उनले पनि जनप्रतिनिधि र कर्मचारीले किसानका समस्यालाई आफ्नो व्यापार गर्ने माध्यम बनाएको आरोप लगाए । यस विषयमा चुरे गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विविराज सोतीसँग बुझ्न खोज्दा उनले आफूलाई यो विषयमा जानकारी नभएको र कृषि शाखा प्रमुखलाई बुझ्नु भन्दै पन्छिए ।
गाउँपालिकाले आवश्यक सामग्री खरिद गर्दा खरिद र मूल्याँकन समिति गठन गर्नुपर्ने व्यवस्था छ । यी दुई समितिको संयोजक कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको व्यक्ति हुने व्यवस्था हुँदा पनि निमित्त कार्यालय प्रमुख सोती याे विषयमा प्रतिक्रिया दिन पन्छिएका छन् ।