धनगढीः बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिमका उद्योग व्यवसायी भोलिदेखी चरणबद्ध आन्दोलनमा जाने भएका छन्।
भोलीदेखि विहान ११ बजेसम्म एक घण्टा बजार बन्द गर्ने कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो। १५ गते अर्थात भोलीबाट हरेक दिन एक घण्टा बजार बन्द गर्नुका साथै विरोध र्याली निकाल्ने तालिका समेत बनाइएको छ।
कहिले नेपाल राष्ट्र बैंक धनगढी, कहिले जिल्ला प्रशासन कार्यालय कैलाली तथा चोकहरुमा समेत विरोध प्रदर्शन गरिने कैलाली उद्योग वाणिज्य संघले बताएको छ। उद्योगी व्यवसायीहरुले अघि सारेका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय हुने समेत निजी क्षेत्रको चेतावनी छ।
सुदूरपश्चिमको निजी क्षेत्रले फागुन १८ गते ‘नो डिपोजिट’ अर्थात कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने निर्णय समेत गरेको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, आफुअनुकुल ब्याज वृद्धि लगायतको विरोध गर्दै प्रदेशभरी नै यसको विरुद्ध स्वरुप २० गतेसम्मका लागि विभिन्न पाँच बुंदे कार्यतालिका नै बनाएर यहाँको निजी क्षेत्रले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।
पटक पटक चर्को ब्याजदर विषयमा कुरा उठाइए पनि सरकारले कुनै चाँसो नदेखाएको उनीहरुको भनाई छ।आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्न बाध्य भएको उनीहरुको भनाई छ। बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले भोलिदखी चरणबद्ध आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए। भोलि सोमबार बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने, बिहान ११ बजे सम्म बजार बन्द गर्ने, २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन कार्यक्रम रहेका छन्।