धनगढीः धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ। कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो।
दोस्रो संस्करण सन २०२० मा सञ्चालन गर्ने भएपनि कोभिड महामारीका कारण हुन सकेको थिएन। आयोजक एसोसियसनका अध्यक्ष यज्ञराज ओझाले दोस्रो संस्करण २०२० मै सञ्चालन गर्ने भनिएपनि कोभिड महामारीका कारण गर्न नसकिएको बताए।
सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने अध्यक्ष ओझाले बताए। मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए। मेलामा विद्यार्थीले उत्पादन गर्ने प्राबिधिक सामग्रीको पनि प्रदर्शनी हुने छ।