व्यापारिक सामान बोक्छन यात्रुवाहक बस

धनगढी । मंगलबार राती कैलालीको खानीडाँडामा सवारी बोक्ने गाडि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी अत्तरियाले चेकजाँच गर्यो । खप्तड डिलक्सको बा ५ ख ८४११ नम्बरको बसलाई चेकजाँच गर्दा व्यापारिक परियोजनाका सामान सो बसमा ढुवानी भईरहेको थियो ।
सो बसमा युरिया मल लगायत अन्य व्यापारिक सामान राखिएको थियो । यात्रु बोक्ने गाडिले सवारी व्यापारिक सामान बोक्न नपाउने भएपछि प्रहरीले यात्रुहरुका बाहेक व्यापारिक सामान नियन्त्रणमा लिएको थियो ।
केही यात्रुले गुनासो गरेका कारण प्रहरीले सो गाडिमा राखिएको व्यापारिक सामान नियन्त्रणमा लिएको हो ।
कैलालीको धनगढीबाट प्रदेशका सात पहाडि जिल्लामा गुड्ने यात्रुबाहक सवारीले नियमित रुपमा व्यापारिक सामान ढुवानी गर्ने गरेका छन् । प्रदेश ट्राफिक प्रहरी, जिल्ला ट्राफिक प्रहरीले कडाईका साथ सवारी चेकजाँच नगर्दा निर्वाध रुपमा यात्रुबाहक बसले व्यापारिक सामाग्री ढुवानी गर्दै आईरहेका छन् । यात्रुका सामान बाहेक अन्य व्यापारिक र अन्य समाग्री भने छतमा राख्न नपाइने व्यवस्था गरिएको छ । सरकारले गत २०७३ असोज ११ गतेदेखि राजपत्रमा नै प्रकाशित गरेर छतमा राख्न नपाउने व्यवस्था गरेको थियो ।
तर, यहाँका यात्रुबाहक गाडिले खाद्यान्न, निर्माण सामाग्री, पुस्तक, तरकारी, फलफुल लगायत पनि गाडिमा बोक्ने गरेका छन् । यात्रुका सामानसंगै व्यापारिक सामान गाडिमा राख्दा अनियन्त्रीत भई सवारी दुर्घटनाको जोखिम रहन्छ ।
‘बसमा यात्रुहरुले बोकेका सामाननै बढी हुन्छ । त्यसैमा व्यापारिक सामान हुँदा सवारी दुर्घटनाको जोखिम बढ्छ’ प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले भने –‘हामीले यात्रुबाहक गाडि व्यापारिक सामान ढुवानी हुन नदिन कडाईका साथ चेकजाँच अघि बढाएका छौं ।’
उनले व्यापारिक सामान ढुवानी गरेको पाइएमा पहिलो पटक सामान निकालेर गाडिलाई गन्तव्य स्थानमा जान अनुमति दिने र पटक–पटक सोही कार्य गरेको पाइएमा कडा कारबाही गरिने बताए ।