धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकन गरेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सरकारका मुख्यसचिव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सांसदसहित प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको अवलोकन गरेका हुन् ।
विश्वविद्यालयको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालय निर्माण गर्ने शैद्धान्तिक निर्णय भइसकेको र अब व्यवहारिक रुपमा बाँकी प्रक्रिया तीब्र रुपले अगाडि बढ्ने बताए । उनले शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय देशकै पहिलो स्वास्थ्य विश्वविद्यालय बन्नु गौरबको विषयसमेत बताएको बताए ।
सरकारले हिजो आइतबार मात्रै गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन ।
साथै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भइसकेपछि पहिलोपटक विकास आयोजनाको काम अवलोकन सुदूरपश्चिमबाटै सुरु गरेकोसमेत बताए । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोक, कञ्चनपुरमा महोत्सव उद्घाटन, माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।