बैतडी। बैतडीको पाटन नगरपालिका नम्बर १ को कार्यालयले अवैध मदिराको कारोबारमा रोक लगाएको छ । अवैध मदिराको कारोबारले समाजमा विभिन्न खालका समस्या आएकाले मदिराको कारोबारमा पूर्ण रूपमा रोक लगाइएको वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।
वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भएपनि अवैध रूपमा मदिराको कारोबार भइरहेको व्यापक जनगुनासो आएकाले वडा कार्यालयले सूचना प्रकाशन गरेर त्यस्तो कार्यमा संलग्न हुनेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
अवैध मदिराका कारणले महिला हिंसा लगायतका अपराधहरू बढ्न थालेका वडा अध्यक्ष ठगुन्नाले बताए । उनले भने ‘हामीले अवैध मदिराको कारोबारमा पूर्ण रूपमा रोक लगाएका छौँ । कसैले बिक्री वितरण गरेको पाइएमा कानुन अनुसार कारबाही गर्छौँ ।’
वडाको सूचनाको अवज्ञा गरेर कसैले मदिराको कारोबार गरेमा नगरपालिका तथा वडाबाट पाइने सेवा सुविधाबाट वञ्चित गरिने वडा कार्यालयले जनाएको छ ।
वडाभित्र कसैले मदिराको कारोबार गरेमा उसको तीन पुस्ते समेत सार्वजनिक गरिने वडा कार्यालयले जनाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ता, सिफारिस लगायतका सेवा सुविधा नदिने वडा अध्यक्ष ठगुन्नाले बताए । उनले भने ‘हामीले समाजलाई सभ्य बनाउन यो निर्णय गरेका हौँ । यसको पालनाका लागि सबैलाई आग्रह गरिरहेका छौँ ।’
मदिराको कारोबारमा संलग्न हुनेहरूलाई सामाजिक बहिष्कार सम्मको कारबाही गर्ने वडाको तयारी रहेको छ ।
ग्रामीण क्षेत्रमा मदिराकै कारण महिला माथि हुने हिसाब तथा मानसिक समस्या समेत बढेकाले कारोबारमा रोक लगाउन आवश्यक देखिएको वडा नम्बर एकका सामुदायिक मनोसमाजीक कार्यकता मालती बिष्ट बोहराले बताइन् ।
मदिराको कारोबारमा रोक लगाउने निर्णय महिलाहरूले स्वागत तथा कार्यान्वयनमा थप दबाब सिर्जन गर्ने विष्टले बताइन् ।
उनले भनिन् ‘मदिराकै कारण धेरै हिंसाका घटनाहरू भइरहेका छन् । यसको कारोबारमा रोक लगाउने निर्णय निकै राम्रो छ । यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।’