बैतडी । बैतडीमा प्रहरीले लागु औषध नियन्त्रणमा सक्रियता देखाएको छ । लागु औषधले समाजमा नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको हो । लागु औषध चरेशको कारोबारमा संलग्न रहेको आरोपमा तीनदिनमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
चरेशका कारण लागु औषध दुव्र्यसनीमा फस्नेको संख्या बढ्दै गएकाले प्रहरीले सक्रियता देखाएको उनले बताए । गएको शनिबार जिल्लाको दनपा ८ त्रिपुराका ५० बर्षीय नारायसिंह थापालाई पक्राउ गरेको प्रहरीले आइतबार जिल्लाको दोगडाकेदार गाउँपालिका ७ का ५० बर्षीय बिरसिंह कार्कीलाई पक्राउ गरेको थियो ।लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा सोमबार जिल्लाको सुर्नया गाउँपालिका १ हटैराज गुर्केलीका २५ बर्षीय दिपक चन्दलाई पक्राउ गरिएको थियो । पक्राउ परेका तिनै जनामाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
तिनै जनामाथि लागु औषध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको छ । बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले पनि लागु औषधको कारोबार भइरहेको हुन सक्ने प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा चरेशमात्रै नभएर अन्य लागु औषध प्रयोगकर्ताको संख्या समेत बढ्दै गएको छ । यसले समाजमा विभिन्न खालका अपराध निम्त्याउन सक्ने बताइएको छ । लागु औषध दुव्र्यसनमा किशोरावस्थाका मानिसहरु समेत संलग्न रहेकाले यसले समस्या निम्त्याउने कतिपयको भनाइ रहेको छ ।