काठमाडौं । राष्ट्रिय युवा परिषदले सातै प्रदेशमा इनोभेसन सेन्टर (नवप्रवर्तन केन्द्र) खोल्ने भएको छ । परिषदका कार्यसमिति सदस्य रमाकान्त शर्माले सबै प्रदेशमा इनोभेसन सेन्टर खोल्ने कार्य तीव्र रुपमा अगाडि बढेको जानकारी दिएका छन् ।
ललितपुरमा शुक्रबार भएको ‘नेपाली युवा इन क्लाइटमेट एक्सन एन्ड ग्रीन ग्रोथ’ परियोजना को वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने कार्यक्रममा भएको प्यानल छलफलमा उनले सो कुराको जानकारी दिए ।
सातै प्रदेशमा खुल्ने इनोभेसन सेन्टरमा नवप्रवर्तन सम्बन्धी गतिविधि हुने भन्दै उनले त्यहाँ युवाले परियोजनाको सुरुदेखि अन्तसम्म बसेर काम गर्नसक्ने सुनाए ।
“कुनै परियोजना एक हप्तासम्म चल्छ । कुनै एक महिनासम्म चल्छ । त्यस्तै कोही आवासीय रुपमा नै बसेर काम गर्नुपर्ने हुन्छ । यसकारण इनोभेसन सेन्टर युवाहरुको आवश्यता अनुसार चल्छ,” उनले भने ।
इनोभेसन सेन्टरले युवाको विज्ञता अनुसार बन्ने उत्पादनहरुलाई बजारसम्म लान सहयोग गर्ने उनको भनाइ थियो । तर इनोभेसन सेन्टर कुनै एक संस्थाको पहलमा मात्र खोल्न र सञ्चालन गर्न नसकिने भएकाले सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।