हिजो भोट नदिएका सांसदले आज सभामुखलाई भोट दिने

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि बिहीबार भएको निर्वाचनमा अनुपस्थित भई भोट नदिएका दुई सांसदले आज भोट दिने भएका छन् ।
डोटीबाट निर्वाचित नेकपा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टी नाउपाका लक्ष्मण किशोर चौधरी अनुपस्थित रहेका कारण सत्तागठबन्धनका उम्मेदवार भीम भण्डारी सभामुख हुन पाएनन । भण्डारीलाई बहुमत पुर्याउँन १ मत कम परेको थियो ।
सोहीकारण आज पुनः मतदान हुँदैछ । उक्त निर्वाचन आज शुक्रबार ११ बजे हुँदैछ । बिहीबार नेकपा माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारीले २६ र नेपाली काग्रेसका उम्मेद्वार मान बहादुर रावलले २३ मत पाएका थिए ।
हिजो अनुपस्थित मल्ल र चौधरीले आज भने भण्डारीको पक्षमा मत दिने भएका छन् । त्योसँगै भण्डारी बहुमतसहित सभामुख बन्ने निश्चित भएको छ ।
‘हिजो घन्टी लागिसकेपछि ढिलो आएका कारण उहाँ लक्ष्मण किशोर चौधरी अनुपस्थित देखिनुभयो,’ नाउपाका संसदीय दलका नेता रामेश्वर चौधरीले भने, ‘आज उहाँसँगै हामी भोट गर्छौ ।’
नेकपा एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकका अनुसार मल्लले पनि आज मत दिनेछन् ।
‘हिजो उहाँ उपस्थित नभएको बारे पार्टीलाई थाहा नै दिनुभएको छैन । त्यो पार्टीभत्र छलफलको विषय बनेको छ,’ सचिव पाठकले भने, ‘आज उपस्थित भएर भोट दिनुहुन्छ ।’
बिहीबार अनुपस्थित सांसद चौधरीले भने भोट दिने आफ्नो अधिकारको कुरा भएकाले भोट दिने नदिने पछि निर्णय लिने बताए ।
‘हिजोसम्मको कोर्ष एउटा थियो आज अर्कै छ । भोटिङ मेरो राइट्सको कुरा हो । आज हेरौं के हुन्छ । पछि निर्णय गर्छु,’ चौधरीले भने ।