कैलालीपुल क्याम्पस रोडसम्म सडक कालोपत्रेकालागि बोलपत्र आह्वान

धनगढी । धनगढीको मुख्य सडक कैलालीपुलदेखि क्याम्पस रोड सम्मको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। कैलाली पुलदेखि क्याम्पस चोक सम्मको २ दशमलव ३ किलोमिटर सडक निर्माणकालागि ठेक्का आह्वान गरिएको हो।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय, कैलालीले बोलपत्र आह्वान गरेको जनाइएको छ। पूर्वाधार कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीले आइतबार ठेक्का सम्बन्धी सूचना प्रकाशति गरिएको जानकारी दिदै ३१ दिनपछि मात्र बोलपत्र खोलिने जानकारी गराए। ३० मिटर चौडाइ रहेको सो सडकको ६६ करोड लागत स्टीमेट तयार गरी ठेक्का आह्वान गरीएको पुर्वाधार विकास कार्यालयका प्रमुख खत्रीले जानकारी दिए। सो सडक निर्माणका लागी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले ठेक्का आह्वन गर्न मातहतको कार्यालय लाई ताकेता गरेका थिए ।
धनगढी उप–महानगरपालिकाले सडक क्षेत्र भित्र पर्ने भौतिक संरचना खाली गर्ने र मन्त्रालयले सडक बनाउने सम्झौता बमोजीम पुर्वाधार विकास कार्यालय मार्फत आयोजनाको कार्यान्वयन हुने छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले बजेट सुनिश्चीत भएपछि बोलपत्र आह्वान गरिएको बताए। जसअन्तरगत चालु आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। धनगढी उप–महानगरपालिकाले सडकको केन्द्र भागदेखि दायाँबायाँ १५–१५ मिटर सडक फराकिलो बनाउन डोजरको प्रयोग गरेर भौतिक संरचना भत्काइरहेको छ। नगर प्रमुख गोपाल हमालले धनगढीको मुख्य सडकको सवारी जाम हुने गरेकाले सडक चौडा गर्ने योजना अन्तर्गत सडक निर्माणको काम भैरहेको बताए। उनले धनगढीको मुख्य सडक चौडा बनाउने काममा सहयोग गर्ने घर धनीहरूलाई धन्यवाद ब्यक्त गर्दै विकास निर्माणको काममा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।