धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यकाल सकिदैँछ। प्रदेशमा दोस्रो कार्यकालका लागि नयाँ मुख्यमन्त्री चयनमा दलहरुबीच हानथाप छ। तर, प्रदेशका प्रथम मुख्यमन्त्रीको निवासका लागि भने पाँच वर्षमा २३ लाख २४ हजारका फर्निचर तथा जिन्सी सामाग्री खरिद गरिएको पाइएको छ।
मुख्यमन्त्री भट्टले जिन्सी सामग्री खरिदमा किफायती भएको दाबी गरेका छन्। उनले पाँच वर्षमा सोफासमेत परिवर्तन नगरेको जिकिर गरे। ‘राजनीति गर्ने मान्छेको स्वभाव अनुशासन र इमान्दारीता आवश्यक छ।’ नेपालमा देखिएको के हो भने, पद नपाउँदासम्म बढी क्रान्तिकारी कुरा गर्ने, पद पाएपछि क्रान्तिकारीपन सिद्धिएर आफू सबैभन्दा बढी गैरक्रान्तिकारी भएर बाहिर आउने र जनताको आक्रोश सबैभन्दा बढी देखिने हुन्छ,’ उनले भने।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच वर्षमा मुख्यमन्त्रीको सरकारी निवासमा २३ लाख २४ हजार चार सय ७६ रुपैयाँका जिन्सी सामग्री खरिद गरिएको छ। सुरूमा भाडाको घरमा बसेका मुख्यमन्त्री भट्ट केही समयपछि सरकारी निवासमा सरेका थिए।