धनगढी । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताका लागि सहमति नभएपछि निर्वाचनमा जाने तयारी गरिएको छ ।
दलको नेता चयनका लागि मंगलबार रातिसम्म आकांक्षी उम्मेदवारलाई समय सीमा दिइएको थियो । सहमति नजुटेपछि निर्वाचनको तयारी गरिएको प्रदेश महामन्त्री तथा निर्वाचन समितिका सदस्य नरनारायण शाहले जानकारी दिए । निर्वाचन समितिको बैठकपछि निर्वाचन तालिका प्रकाशन गरिने महामन्त्री शाहले बताए ।
सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेताका लागि ७ जनाले दाबी गरेका छन् । दलको नेता चयनका लागि मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवहाक उपसभापति लोकराज अवस्थीको नेतृत्वमा बसेको बैठक निश्कर्षविहीन भएको थियो ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले दलको नेता चयन गर्नका लागि पार्टीका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचन समितिको सदस्यमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा रहेका छन् ।
दलको नेता चयनका लागि बैठकमा आकांक्षीहरुलाई धारणा राख्न समय दिएपछि ६ जनाले धारणासहित दलको नेताका लागि दाबी प्रस्तुत गरेका थिए भने एक जना भने बैठकमा नै उपस्थित भएका थिएनन् ।
बैठकमा उपस्थिति नभएपनि फोन गरेर दाबी प्रस्तुत गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री शाहले जानकारी दिए । “सात जनाले नैे संसदीय दलको नेताका लागि दाबी गरेका छन्”, शाहले भने, “१९ जना प्रदेशसभा सदस्य रहेका मध्य ७ जनाले दलको नेता हुने दाबी गरेका हुन् ।”
बैठकमा उनीहरु सबैलाई पालैपालो धारणा राख्न समय दिइएको थियो । सकेसम्म दलको नेता सर्वसम्मत रुपमा चयन गर्न प्रदेश पदाधिकारीले सुझाव दिएको महामन्त्री शाहले बताए । बैठकमा आकांक्षीहरुलाई एक जनाको नाममा सहमति गर्न भनिएको थियो तर उनीहरुबीच सहमतिको वातावरण नबेपछि बैठक टुंगिएको थियो ।
दलको नेता हुनका लागि प्रदेश सदस्य शिवराज भट्ट, बहादुरसिंह थापा, मेघराज खड्का, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह, दिवानसिंह बिष्ट र मानबहादुर रावलले दाबी प्रस्तुत गरेका हुन् ।