धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुष २८ गते निर्वाचन गर्ने गरि मिति तय भईसकेको छ । नवनिर्वाचित प्रदेश सभा सदस्य तथा ज्येष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको दोस्रो कार्यकालको प्रथम बैठकमा ‘पुस २८ गते दिनको १ बजे सभामुखको निर्वाचन गराउने गरि कार्यतालिका बनाई सूचना टाँस गर्न’ प्रदेश सभा सचिवालयका सचिवलाई निर्देशन दिए ।
सभामुख तथा उपसभामुख निर्वाचनको मिति तयसंगै प्रदेश प्रमुखको कार्यालयले पनि प्रदेशको मुख्यमन्त्री गठन प्रक्रियालाई अघि बढाउने तयारी गरेको छ । बुधबार विहान १० बजे प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा दाबी गर्न सूचना आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायसंग कानुनी परामर्श लिई मुख्यमन्त्री गठनका लागि दलहरुलाई दाबी गर्न आह्वान गर्ने तयारी गरेका हुन ।
प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेपाली काँग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ । सो दलमा छ जनाले संसदीय दलको नेता बन्न आँकाक्षी रहेका छन् ।
नेपाली काँग्रेसले मुख्यमन्त्री उन्मुक्तिलाई दिने गरि समिकरण गर्दा सभामुख नेपाली काँग्रेस र उपसभामुख स्वतन्त्रलाई बनाउने गरि नयाँ समिकरण बन्न सक्छ । प्रदेशमा नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका सात र एक स्वतन्त्र एक गरि २७ जनाको सरकारको समिकरण बन्न सकिन्छ । यस प्रदेशमा ५३ सदस्य रहेकोमा सरकार बनाउन बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यकता रहन्छ ।
काँग्रेस–उन्मुक्ति–एस समिकरण
नेपाली काँग्रेसले मुख्यमन्त्री उन्मुक्तिलाई दिने गरि समिकरण गर्दा सभामुख नेपाली काँग्रेस र उपसभामुख नेकपा एकीकृत समाजवादी पार्टीलाई बनाउने गरि नयाँ समिकरण बन्न सक्ने सम्भावना रहेको छ । प्रदेशमा नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका सात र एसका चार गरि ३० प्रदेश सभा सदस्य पुग्छन् । केन्द्रमा सरकारमा एस पार्टी सामेल नभएकाले यस समिकरणका आधारमा पनि सरकार गठन हुने सम्भावना रहेको छ ।
काँग्रेस–माओवादी–एस
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धन गरेर निर्वाचित भएकाले यस प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने र सभामुख तथा उपसभामुख अन्य दललाई दिने गरि सत्ता समिकरणको सम्भावना पनि रहेको छ ।
प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्र ११ र एसका चार गरि ३४ प्रदेश सभाले स्पष्ट बहुमत रहेको छ ।
उन्मुक्ति ढुलमुल
मुख्यमन्त्रीको दाबीसहित सरकारमा जाने अठोट लिएको उन्मुक्ति केन्द्रको समिकरणमा साथ दिन्छ वा नयाँ समिकरण बनाउँछ भन्ने पनि टुङ्गो छैन । सो पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले भने –‘प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहेको छ । म मुख्यमन्त्रीका लागि योग्य पनि छु । त्यही अनुसार अघि बढ्छौं ।’
नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कैलाश चौधरीले सभामुख तथा उपसभामुखबारे दलभित्र छलफल नभएको बताए । उनले भने –‘हाम्रा मागहरु पुरा नभएसम्म सरकारमा नजाने निर्णय भएको छ । सभामुख तथा उपसभामुखमाबारे छलफल गर्छौ । यसबारे केही दिनमै निर्णय हुने छ ।’