चिसोले कैलालीमा जनजीवन प्रभावित

धनगढी । कैलालीमा मङ्गलबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो ।
बिहानैदेखि शीतलहरसंगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण धनगढी लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छे सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।
चिसोले बालबच्चालाईमात्रै हैन ज्येष्ठ नागरिक पनि प्रभावित भएका छन् । बुढापाकालाई जाडो कटाउन धेरै समस्या हुने गरेको बताइन्छ । जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको भट्टको सुझाव छ ।
जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि मुक्त कमैया परिवार, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ । जाडोका कारण काम गर्न समस्या भइरहेको धनगढीमा नाली बनाउने काम गरिरहनु भएका मजदुर रामदुलार चौधरीले बताए । ‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उनले भने । यसैगरी, गहुँ सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकी नसकी काम गर्न बाध्य छन् ।
चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए । उनले चिसोमा रोटा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने सम्भावना रहेको उल्लेख गरे । ‘त्यसैले चिसोमा बच्चा, वृद्धवृद्धाको एकदमै ध्यान दिनु पर्दछ’, उनले भने,‘उनीहरुलाई चिसो लाग्नबाट जोगाउन आवश्यक छ ।’
चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनु पर्ने, ननिस्कने जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने शर्माले बताए ।