तराईमा हुस्सु, हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा हुस्सु लागेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हिमाली भूभागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।
देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।