बैतडी अस्पताल विवाद : दुवै पक्षद्वारा प्रदर्शन जारी, यातायात र मेलौली बजार बन्द

बैतडी । बैतडीको मेलौली नगरपालिकामा आधारभूत अस्पातल निर्माणका बिषयमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ । नगरपालिको वडा नम्बर १ र ७ का नागरिकले आ–आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राखेपछि तीनदिनदेखि आन्दोलन गरिरका छन् ।
वडा नम्बर ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग राख्दै मंगलबारदेखि नगरपालिकामा तालाबन्दी गरेका छन् । आन्दोलनकै कारण पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौलीमा यातायात बन्द गरिएको छ । भने मेलौली बजार पनि बन्द छ ।
यस्तै वडा नं १ का बासिन्दाहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन् । उनीहरुले पनि नगरपालिका नजिकै प्रर्दशन गरेका छन् ।
अस्पताल निर्माणका बिषयमा विवाद हुँदा बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए । मंगलबारबाटै आ–आफ्नो क्षेत्रमा प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
दुवै पक्षलाई एक ठाउँमा राखेर वार्ता गर्ने प्रयास गरिएको भएपनि त्यो संम्भव हुन नसकेको प्रहरी निरीक्षक खत्रीले बताए ।
दुवै पक्षको बन्द र प्रदर्शनका कारण यात्रुहरुलाई सास्ती भएको छ । उनीहरुले अत्यावश्यक सेवाका गाडीमा समेत रोक लगाउन थालेका छन् । मेलौलीमा दुवै पक्षबीच झडप हुन थालेपछि प्रहरी निरीक्षक खत्रीकै नेतृत्वमा त्यहाँ थप प्रहरी परिचालन गरिएको छ । दिउँसो सशस्त्र प्रहरी खटिएको भएपनि अहिले सशस्त्रको टोली फर्किएको प्रहरी निरीक्षक खत्रीले बताए ।
नेपाल नगरपालिका संघको अधिवेशनका लागि मेलौली नगरपालिकाका प्रमुख र उपप्रमुख काठमाण्डौंमा रहेका छन् । नगर प्रमुख भीमबहादुर चन्दले विज्ञप्ती निकालेर वार्ता र सम्वादकै माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
दुवै पक्षको विवादका कारण २०७० सालदेखि अस्पताल निर्माण अलपत्र परेको छ । दुवै पक्षको खिचातानीका कारण अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् । यो बिषयमा दिनानुदिन थप पेचिलो बन्दै गएको स्थानीयहरुले गणेश नायकले बताए । त्यहाँका नागरिक रातभर सडकमै सुत्न थालेका छन् ।