उद्योगी व्यवसायीलाई सुरक्षाको ग्यारेण्टी गर– महासंघ

धनगढी । उद्योगी व्यवसायीलाई शान्ति, सुरक्षा प्रदान गरी भयरहित तरिकाले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । आईतबार कैलालीको अत्तरियामा सुन चाँदी व्यवसायीमाथि गोली प्रहार घटनाले व्यवसायीलाई थप त्रसित बनाएको भन्दै सुरक्षाको ग्यारेण्टी गर्न प्रशासनसंग आग्रह गरेको हो ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ती जारी गर्दै दिनदाहाडै सुरक्षाकर्मीको नजिकै भिडभाड युक्त ठाउँमा व्यापारी माथि ज्यान मार्ने उद्देश्यका साथ भएको आक्रमण प्रति घोर भर्त्सना गरिएको छ ।
महासंघका अध्यष शंकर बोगटीद्धारा हष्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘सो घटनाको स्वच्छ छानविन गरी यथाशिघ्र दोषीलाई हिरासतमा लिई कानुनी उपचार दिन हुन सुरक्षा निकायसँग नेपाल उद्योग वाणिज्य महासंघ ( सुदूरपश्चिम प्रदेश जोडदार माग गर्दछ ।’
व्यवसायी माथि आक्रमण गरेर सुनचाँदी गरगहना सहित नगद तथा जिन्सी सामान लुटपाट भएको थियो ।