बत्तीमुनिको अध्यारोमा चुरेका १४० घरधुरी

धनगढी । ठेकेदार र विद्युत वितरण केन्द्र धनगढीको लापरबाहीले चुरे क्षेत्रका एक सय ४० घरधुरी अझै अन्धकारमा छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ का एक सय ४० घरधुरी विद्युत सेवाबाट वञ्चित छन्।
विद्युत विस्तारका लागि २०७६ सालमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो। तर ठेकेदारले पोल मात्र गाडेर बाँकी काम अलपत्र छोडेपछि स्थानीय आक्रोशित बनेका छन्। चार वर्षसम्म विद्युत लाइन तान्ने काम नभएको स्थानीय राजीब बुढाले गुनासो गरे। ‘पटकपटक धनगढी विद्युत वितरण केन्द्र र ठेकेदारलाई विद्युत लाइनका लागि आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन,’ उनले भने, ‘चुरेका १४० घरधुरीलाई प्राधिकरणले नागरिक नै नभएको जस्तो व्यवहार गरेर अन्धकारमा धकेल्ने काम गरेको छ।’
चुरेमा विद्युत विस्तारका लागि धनगढी विद्युत वितरण केन्द्रले निर्माणको जिम्मा चेतराज पन्तलाई दिएको छ। यस विषयमा निर्माणको जिम्मा लिएका पन्तलाई पटकपटक सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया दिन तयार भएनन्। चार वर्षदेखि पोल गाड्ने बाहेक ठेकेदारले कुनै काम नगरेको भन्दै स्थानीय आक्रोशमा छन्। विद्युत लाइन विस्तारका लागि स्थानीयले विद्युत वितरण केन्द्र र ठेकेदारलाई दैनिक रुपमा आग्रह गर्दा पनि बाँकी काम अघि बढ्न सकेको छैन्।
चुरे गाउँपालिका वडा नम्बर ४ को पाठेगडा र जगातीमा पोल मात्र गाडेर बाँकी काम अलपत्र छोडिएको छ। विद्युतीकरण हुन बाँकी क्षेत्रमा पोलसँगै छिट्टै तार तान्ने काम सुरु हुने प्राधिकरणको दाबी छ।
केही समय कोरोना महामारीका कारण विद्युत विस्तारको काम हुन नसके पनि अहिले काम भइरहेको धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए। ‘म अहिले विद्युतकै कामले चुरेमा छु,’ उनले भने, ‘यहीँ कामको लागि म यहाँ आइपुगेको हुँ। ठेकेदार पनि मसँगै हुनुहुन्छ। अबको एक हप्ताभित्रै देखिने गरी काम हुन्छ।