लम्कीचुहा नगरपालिकाकी मेयरले पत्रकार ढुङ्गानालाई बन्धक बनाएकाे आरोप

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ । लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले न्युज २४ मा कार्यरत पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो । कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए । मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारीसाधन प्रयोग गरिरहेको बारेमा रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले बताएका छन् ।
नगर प्रमुख शाहीले केही मानीसहरुसहित आएर आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिएर खिचेका सबै तस्वीर तथा भिडिओ डिलिट गर्न लगाएको ढुङ्गानाको आरोप छ । ‘दिउँसो ३ बजे तिर रिपोर्टिङमा गएको थिए, केही भिडीयो खिचीसकेपछि नगरप्रमुखको फोन आएपछि भेट्न बोलाउनुभयो, त्यसछि होटलमा बसेर सबै फोटो र भिडियो डिलीट गर्न लगाउनुभयो उनले भने ।,’ पैसाको डिल पनि गर्नु भयो र त्यहाँबाट निस्कीनलाई हुन्छ भन्दै त्यहाँबाट निस्कीएको उनको भनाई । यो घट्नालाई पत्रकार महासंघले गम्भीर रुपमा लिन उनले आग्रह गरेका छन् ।
यता पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले घट्ना ढिला गरी खबर भएको बताएका छन् । यो घट्ना पछि अहिले छलफल भइरहेको समेत उनले बताए । रिपोर्टिङको क्रममा यसरी पत्रकारलाई फोटो भिडीयो नै डिलीट गर्न लगाउनु र धम्क्याउनु सरासर गलत भएको जोशीले बताए । पत्रकार महासंघले बिज्ञप्ती निकाल्ने तयारीसमेत गरिरहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले घट्नाबारे बिस्तृत जानकारी नभएको बताएका छन् । ‘सामान्य रुपमा उहाँहरु दुबैबीच एउटा होटलमा बसेर कुराकानी भएको र त्यसपछि फोटो र भिडियो डिलीट गर्न लगाएको भन्ने खबरमात्रै प्राप्त प्राप्त भएको छ प्रमुख खड्काले भने घट्नाबारे थप अनुसन्धान भइरहेको छ । दोषि प्रमाणित भए जो कसैलाई पनि गल्तीगरे अनुसारको सजाय मिल्ने उनको भनाई छ ।
यसैबीच ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ। प्रेस चौतारीका सचिव जनक बिष्टले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।
हामीले लम्कीका मेयर शाहीसँग यसबारेमा थप बुझ्न खोज्दा उनको मोबाइल स्विच अफ गरिएको छ ।