हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना

डडेल्धुरा । अमरगढी नगरपालिकाले विद्यार्थीलाई अनुशिक्षण दिई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाएको छ । नगरभित्रका छ वटा मावि तहका सात जना विद्यार्थीलाई लैङ्गिक हिंसासम्बन्धी कानुनी व्यवस्था र लैङ्गिक हिंसासम्बन्धी कक्षा सञ्चालन गरी अभियान मनाइएको अमरगढीले जनाएको छ । कक्षा सञ्चालनमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सहयोग गरेको थियो ।
विद्यालयहरूमा पुगी प्रहरीले सचेतनाका कक्षा सञ्चालन गरेको थियो । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको अमरगढी नगरपालिकाका सामाजिक विकास शाखा संयोजक लालबहादुर साउदले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रवृत्तिले हिंसा न्यूनीकरण नहुने र यसका लागि सरकार, सङ्घसंस्था तथा स्थानीयसमेत जागरुक बन्नुपर्ने बताए । लैङ्गिक हिंसा अन्त्यका लागि परिवार, समाज तथा विशेष गरी ग्रामीण भेगमा सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ थियो ।