इंग्ल्यान्डको उपाधिविहीन यात्राको ५६ वर्ष, पन्छाउला सेनेगलको चुनौती

धनगढी, १८ मंसिर । विश्वकप फुटबल प्रतियोगितामा आज फुटबलको जननी मानिने इंग्ल्यान्डको सेनेगलको सामना गर्दैछ। मध्यरात १२ः४५ मा हुने भिडन्तमा इंग्ल्यान्ड अफ्रिकन टिमविरुद्धको आफ्नो बलियो इतिहास कायम राख्ने ध्याउनमा मैदानमा उत्रिने छ।
नकआउट चरणमा सेनेगलसँग प्रतिस्पर्धा गर्दै गर्दा इंग्लिस टिमका लागि उपाधिविहीन ५६ वर्षे लामो यात्रालाई अन्त गर्ने अभियानको पहिलो अध्यायको रुपमा यो खेललाई लिन सकिन्छ।
विश्वकप फुटबलमा इंग्ल्यान्डलाई नकआउट चुनौती दिने राष्ट्र अफ्रिकी च्याम्पियन सेनेगल हो। सेनेगल मैदानमा उत्रिँदै गर्दा स्वभाविक रुपमा इंग्लिस टिमलाई दबाब हुनेछ।
चेल्सीका डिफेन्डर कालिडोउ कोलीबेलीको कप्तानीमा मैदान उत्रिने सेनेगलले आफ्ना स्टार साडियो मानेलाई भने इंग्ल्यान्डविरुद्ध पक्कै पनि मिस गर्नेछ।
सेनेगलका १० मध्ये ६ खेलाडी प्रिमियर लिग खेल्दा बाँकी ४ खेलाडी पनि इंग्ल्यान्डमा नै व्यावसायिक फुटबल खेल्दा स्वभाविक रुपमा दुई राष्ट्रबीच कडा प्रतिस्पर्धा हुनेछ।
घरेलु भूमिमा सन् १९६६ मा विश्वविजेता बनेको इंग्ल्यान्डले समूह ‘बी’को विजेता बन्दै नकआउटमा पुगेको थियो। सेनेगल भने नेदरल्यान्ड्ससँग पराजित भए पनि त्यसपछि लगातार दुई खेलमा जित निकाल्दै समूह उपविजेताका रुपमा नकआउटमा पुगेको थियो।
तर, इंग्ल्यान्ड विश्वकपमा अफ्रिकी टिमविरुद्ध पछिल्ला ७ खेलमा अपराजित रहेको छ। जुन यात्रा जारी राख्न चाहन्छ। उसले ४ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।
इंग्ल्यान्डले सन् १९९० पछि पहिलो पटक अफ्रिकन टिमसँग नकआउटमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि १९९० मा विश्वकपको क्वाटरफाइनलमा क्यामरुनमाथि अतिरिक्त समयमा इंग्ल्यान्ड ३–२ ले विजयी भएको थियो।
सेनेगलले विश्वकपमा लगातार दुई खेल पहिलोपल्ट जित्दै नयाँ रेकर्डक बनाएको थियो।