सुदूरपश्चिमका सबै निर्वाचन केन्द्रमा खटिए, मतदान केन्द्र निर्माण हुदै

धनगढी, २ मंसिर । मंसीर ४ गते हुने चुनावका लागि सुदूरपश्चिम प्रदेशमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु मतदानका लागि आवश्यक तयारीमा जुटेका छन् । बिहिबार देखी मतदान केन्द्र पुगेका कर्मचारीहरुले शुक्रबार देखि मतदानका लागि आवश्यक तयारी गरेका हुन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशभर खटाएका २५ हजार कर्मचारी काममा जुटेका हुन् ।
निर्वाचनका लागि प्रदेशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमानाकाहरु बन्द गरेर संयुक्त गस्ती पनि भईरहेको छ । आवश्यक परेको खण्डमा नेपाली सेनाले हवाई गस्तीको समेत योजना बनाएर तयारी अवस्थामा राखिएको छ ।
सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन केन्द्रमा खटिएका कर्मचारीहरुले चुनावका लागि आवश्यक तयारी समेत थालेका छन् । सर्वदलीय बैठक, मतदानका लागि आवश्यक भौतिक संरचना तयारी गर्ने काम मतदान केन्द्रहरुमा भईरहेको जनता मावि मतदान केन्द्र धनगढीका मतदान अधिकृतले जानकारी दिए ।
मतदानका लागि आवश्यक सबै तयारी मंसीर ४ गते पूर्व नै गरिसकिनेछ । मंसीर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सबै निर्वाचन केन्द्रमा मतदान हुनेछ । निर्वाचन क्षेत्रमै मतगणना समेत हुने प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन । बिहीबार राति १२ बजेबाट भारतसँग जोडिएका सुदूरपश्चिमका सम्पूर्ण सीमानाका बन्द गरिएका हुन् । निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलाका सीमानाका बन्द गरिएका छन । सीमा क्षेत्र शसस्त्र प्रहरीले संयुक्त गस्ती समेत गरिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
निर्वाचन सुरक्षा प्रयोजनका लागि कर्मचारीसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी पनि परिचालन गरिएका छन् । नेपाल सरकारको निर्वाचन सुरक्षा रणनीति अनुसार प्रदेशमा म्यादी सहित १८ हजार प्रहरी, तीन हजारको हाराहारीमा सशस्त्र प्रहरी र सोही संख्यामा नेपाली सेना प्रदेशमा परिचालन गरिएको छ । नेपाली सेनाले स्थलसँगै हवाई सुरक्षा समेत दिने तयारी गरिएको नेपाली सेनाका सुदुरपश्चिम पृतना हेडक्वाटर कैलालीका गणपति विजय थापाले जानकारी दिए ।
मंसिर ४ गते हुने चुनावका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता छन । सुदुरपश्चिम प्रदेशमा प्रतिनिधि सभातर्फ १६ वटा र प्रदेश सभा अन्तर्गत ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।