काँग्रेसकी नेतृ डाक्टर आरजुद्वारा प्रदेश सभा १ का चार चुनावी सभालाई सम्बोधन, गठबन्धन जिताउन आग्रह

धनगढी,२३कार्तिक । नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा १ का चार स्थानमा आयोजित चुनावी सभामा सम्बोधन गरेकी छिन् ।
बुधबार कैलारी गाउँपालिका वडा नम्बर ९ र ६, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ र १२ मा आयोजित चुनावी सभामा सम्बोधन गरेकी हुन् ।
नेतृ देउवाले नेकपा एमालेको चुनाव चिन्ह सूर्य अन्धकार भएर गईरहेको बताईन् । उनले भनिन बहुमत प्राप्त गरेर सरकार चलाउन नेतृत्व गरेको एमालेले जनताका पक्षमा काम गर्न सकेन । अहिले सुर्य अन्धकार भएर गयो ।
उनले जनताको पक्षमा काम गर्ने पार्टीलाई मतदान गर्न आग्रह गरिन् । उनले भनिन देश विकास, संविधानको रक्षा, लोकतन्त्रलाई संस्थागत गर्न गठबन्धन दलबाहेक कसैले गर्न सक्दैनन । त्यसैले गठबन्धनको सरकार बनाउन गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउनुहोला ।
नेतृ देउवाले गठबन्धन दलबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता डिल्लीराज पन्त विकास प्रेमी नेता भएको बताईन । उनले पन्त प्रदेश सभा सदस्य हुँदा आफ्नो क्षेत्रमा जनताका लागि काम गरेको बताईन । उनले भनिन काँग्रेसको सरकार थिएन । त्यहीपनि उहाँले खानेपानी, विद्यालयको भवन, तटबन्धन, सडक कालोपत्रे लगायतमा बजेट खर्च गरे । अब गठबन्धनकै सरकार बनेमा थप बजेट र योजना यस निर्वाचन क्षेत्रमा आउने छ ।
उनले स्थानीय, प्रदेश र केन्द्रमा गठबन्धन सरकार आवश्यक रहेको बताईन् । उनले जातपात, भाषा, समुदायको नारामा नलाग्न पनि मतदाताहरुसंग अनुरोध गरिन् ।
कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका उम्मेदवार डिल्लीराज पन्तले आफुले जनतामा भ्रम छरेर, झुठा आश्वासन देखाएर मत नमाग्ने बताए । उनले राजनीतिक यात्रादेखिनै आफुले सधै जनताको सेवामा लागेको बताए । उनले भने मलाई यस निर्वाचन क्षेत्रका सबै समस्या थाहा छ । म निर्वाचन जितेपनि सधै तपाईहरुकै माझ हुनेछु । विकासका योजना र बजेटका लागि पनि गठबन्धन सरकारलाई विजयी गराउन आवश्यक रहेको छ ।
प्रदेश सभा १ का उम्मेदवार नेकपा माओवादीका नेता रमेश धामीले योजनामा हुने कमिशन प्रवृतिको अन्त्य गर्ने बताए । उनले आफु निर्वाचित भएमा वडा र टोलको प्राथमिकताका आधारमा प्रमुख समस्याहरुलाई समाधान गर्ने गरि काम गर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले विकास र समृद्धिका लागि गठबन्धनका दललाई विजयी गराउन आवश्यक रहेको बताए । उनले उम्मेदवार पन्त नेपाल विद्यार्थी संघको संस्थापक रहेको र पार्टीमा लामो समय योग्दान पुर्याएकोले अहिले पार्टीले प्रतिनिधि उम्मेदवार बनाएर न्याय गरेको बताए ।
उनले नेकपा एमालेका उम्मेदवारले झुठा योजना देखाएर मत मागिरहेको बताए । चुनावी सभामा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य शुशिला मिश्र भट्ट, जिवन राना, नेपाली काँग्रेस कैलाली सभापति नारायण दत भट्ट, एकीकृत समाजवादी पार्टीकी नेतृ लक्ष्मी चौधरी लगायतले सम्बोधन गरेका थिए ।