गत चुनावमा २५८ मतले हारेका लेखक चौथो पटक संसद छिर्ने दाउमा, पाल बन्न सक्छिन् चुनौती

काठमाडौं, २१ कात्तिक । प्रखर वक्ताको छवि बनाएका नेपाली कांग्रेसका नेता रमेश लेखक पछिल्ला वर्षहरूमा गुमनाम छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता लेखकलाई पार्टीले कुनै खास जिम्मेवारीसमेत दिएको छैन । अघिल्लो कार्यकालमा समेत देउवाले लेखकलाई चर्चामा रहने जस्तो कुनैपनि जिम्मेवारी दिएनन् ।
देउवा पार्टी सभापति भएपछि उनी गुमनाम भएका हुन् । २०४७ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लेखक २०५६ सालको निर्वाचनबाट संसद छिरेका हुन । लेखक श्रम तथा यातायात मन्त्री बनिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका लेखक राजनीतिमा आउनुअघि वकालत गर्थे । अध्ययनमा रुचि राख्ने लेखकका लेख–रचनाहरू पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
देउवाका विश्वासपात्र लेखकले शान्ति प्रक्रियादेखि संविधान निर्माणका क्रममा विभिन्न समितिमा बसेर काम गरे । लेखकले कञ्चनपुबाट प्रत्यक्षतर्फ तीन वटा संसदीय चुनाव लडिसके । २०५६ सालको चुनावमा लेखकले राप्रपाका इन्द्रबहादुर खत्रीलाई पराजित गरेका थिए । २०६४ को पहिलो संविधान सभा चुनावमा उनले प्रत्यक्ष चुनाव लड्न पाएनन् । साविक कञ्चनपुर– ४ र डडेल्धुरामा प्रधानमन्त्री देउवा चुनाव लडे । दुवै क्षेत्र जितेपछि देउवाले कञ्चनपुर–४ छोडेका थिए । देउवालाई आफ्नो क्षेत्र छोडेका लेखक त्यसबेला समानुपातिक सांसद भएका थिए । उनी २०७० सालमा साविक क्षेत्र नं. ४ चुनाव लडेर विजयी भए ।
०५६ सालदेखि निरन्तर रुपमा संसद छिर्ने अवसर पाइरहेका लेखकको संसद् यात्रा ०७४ को चुनावले रोकियो । उनी वाम गठबन्धनका दीपकप्रकाश भट्टसँग २५८ मतले पराजित भए । वाम गठबन्धनको तर्फबाट नेकपा एमाले उम्मेदवार भट्ट २६ हजार ३६४ मतसहित विजयी हुँदा लेखकले २६,१०६ मत मात्र प्राप्त गरे ।
लेखक ०७४ को हारको घाउ मेटाउँदै आगामी मंसिर ४ मा हुने चुनावमा जित निकाल्ने दाउका साथ मैदानमा छन् । यसपटक जितेमा लेखकको प्रत्यक्षतर्फ संसदीय चुनावमा तेस्रो जित हुनेछ भने उनी चौथो पटक संसद् प्रवेश गर्नेछन् ।
चौथो पटक संसद् प्रवेश गर्न कति सहज
वाम गठबन्धन हुँदा समेत २५८ मतले एमाले उम्मेदवारसँग पराजित भएका लेखकका लागि अहिले संसद छिर्ने बाटो सहज छ । नेकपा एमाले फुटेको छ । एमाले फुटेको मात्र छैन ऊ विरुद्ध सत्ता गठबन्धनले चुनावी तालमेल समेत गरेको छ । यही कारण लेखकलाई यो पटक चुनाव जित्न सहज छ । एमालले यो पटक दीपकप्रकाश भट्टलाई उम्मेदवार बनाएको छैन । उसले यो पटक निरूदेवी पाललाई उम्मेदवार बनाएको छ । पाल एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् । कञ्चनपुर– ३ बाट १२ जनाको उम्मेदवारी परेको छ । तर, पनि यहाँ लेखक र पालबीच नै मुख्य प्रतिस्पर्धा हुने अड्कलबाजी गरिएको छ ।
पाल दोस्रो पटक प्रत्यक्षमा चुनाव लडेकी हुन् । पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनी प्रत्यक्ष चुनाव लडेकी थिइन् । त्यसपछि भने उनी समानुपाति सांसद भइन् । यहाँ राप्रपाले एमालेसँग तालमेल गर्ने भएको छ । कञ्चनपुर– ३ मा राप्रपाको राम्रो जनमत छ । कांग्रेसका २ जना बागी उम्मेदवार छन् । कांग्रेसका शारदा चन्द र दीपकबहादुर सिंहले स्वतन्त्र उम्मेदवारी दिएपछि लेखकलाई केही सकस परेको छ । चन्द र सिंह दुवैले लेखकको मत काट्न सक्ने अनुमान गरिएको छ । ०७४ मा एमाले जिताउन निर्णायक बनेको माओवादीको मत आफूलाई प्राप्त हुने भएपछि लेखक केही ढुक्क देखिन्छन् ।
लेखकलाई रोक्लिन् त पालले
निरूदेवी पाल एमालेको जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी दौडमा छिन् । राप्रपाको साथ पाएपछि त झन् उनी हौसिएकी छन् । कांग्रेसका बागी उम्मेदवारले लेखकको मत काट्ने र आफूले राप्रपासहितको मतले विजयी हुने आकलन पालले गरेकी छन् ।
वडाध्यक्षको मतमा लेखक अगाडि
वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार कञ्चनपुर– ३ मा सत्ता गठबन्धन बलियो छ । यो क्षेत्रमा भीमदत्त नगरपालिकाका १९, दोधाराचाँदनीका १० र बेदकोटको वडा नं। ८ गरी कूल ३० वडा पर्छन् । स्थानीय तह चुनावमा भीमदत्त नगरपालिकको प्रमुख कांग्रेस र दोधारा चाँदनी नगरपालिकाको प्रमुख एमालेले जितेको छ । यी दुवै पालिकामा कांग्रेसका प्रमुखले २२ हजार ५४ मत, एमालेले १५ हजार २८३ र राप्रपाले ७ हजार ९८८ मत बटुलेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तह चुनावमा तालमेल गरेका थिए ।
३० वडामध्ये कांग्रेसले १४, एमालेले ९, माओवादीले ३, राप्रपाले २ र एकीकृत समाजवादी तथा स्वतन्त्र उम्मेदवारले १–१ वडा जितेका थिए । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले क्षेत्र नम्बर ३ मा पर्ने ३० वडामा कुल २१ हजार ७७२ मत पाएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवारले १६ हजार ११७ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ५०३, माओवादी केन्द्रले ६ हजार ८१ र एकीकृत समाजवादीले ३ हजार १५ मत प्राप्त गरेको छ । यसरी सत्तारुढ गठबन्धनको पक्षमा कुल ३० हजार ८६८ र एमाले–राप्रपा गठबन्धनको पक्षमा २२ हजार ६२० मत छ । यद्यपि, संसदीय चुनाव भएकाले स्थानीय तहको चुनावमा पाएको पुरै मत यी उम्मेदवारले पाउँछन् भन्ने निश्चित छैन । यो क्षेत्रमा ९७ हजार ८२२ मतदाता छन् ।