योजनाहरुको बजेटबाट कमिसन लिने प्रवृति रोक्छुःरमेश धामी

धनगढी,५कार्तिक।लोकतान्त्रिक–बाम गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा (क) का उम्मेदवार रमेश धामीले योजनामा आउने बजेटमा कमिसन लिने प्रवृतिको अन्त्य गर्ने बताएका छन् ।
धनगढी उपमहागनरपालिका वडा नम्बर १२ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले संसद विकास कोष र संसदमार्फत आउने विभिन्न बजेटमार्फतका योजनामा केही व्यक्तिहरुले कमिसन खाने काम गरेका छन्,’ उनले भने, ‘यस्ता कार्यले जनतामा निराशा छाएको छ । संसद विकास कोष र हामीमार्फत आउने बजेटमार्फतका योजनामा कमिसन खाने कामको अन्त्य गर्नेछु ।’
उनले गठबन्धन दल विजयी भएमामात्र धनगढी उपमहानगरपालिकाको विकास सम्भव रहेको बताए । ‘मेरो निर्वाचन क्षेत्र विकासका हिसावले निकै पछाडि परेको छ । यहाँ विकट भएका वडाहरु छन्,’ उनले भने, ‘म निर्वाचित भएमा यस क्षेत्रको विकासका लागि तपाईहरुसंगै छलफल गरेर, सुझाव लिएर अघि बढ्ने छु ।’
उनले मतदातासंग आग्रह गर्दै भने ‘हिजो निर्वाचित भएका व्यक्तिहरुले कतिको काम गरे भन्ने मूल्यांकन गर्ने र समिक्षा गरि मतदान गर्नु होला ।’