सुदूरपश्चिममा ठूलो पानी पर्न सक्ने चेतावनी

कैलाली,३१ भदौ। नेपालमा मनसुनको याम सकिनलाग्दा मौसम पूर्वानुमान महाशाखाले ठूलो वर्षा हुनसक्ने चेतावनी दिएको छ। गत वर्ष पनि मनसुन सकिएपछि परेको ठूलो वर्षाले सुदूरपश्चिम क्षेत्रमा ठूलो क्षति भएको थियो।
के छ चेतावनी
खासगरी नेपालको सिमाना छेउको भारतीय राज्य उत्तर प्रदेशमा केही दिनदेखि विकसित न्यूनचापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी भूभागनजिक आइपुग्ने र सोसँगै मनसुन न्यूनचापीय रेखा पनि विस्तारै नेपालको तराईनजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यही प्रणालीका कारण बिहीवार रातिदेखि नै देशका कतिपय भागमा पानी पर्न थालेको छ।यो क्रममा नेपालको तराई क्षेत्र तथा पश्चिमी भूभागमा धेरै पानी पर्ने देखिन्छ, महाशाखाका मौसमविद् हीरा भट्टराईले भने।
चौबीस घण्टाको अवधिमा १० मिलिमिटरको हाराहारीमा पानी पर्नुलाई सामान्य वर्षा मानिन्छ भने १० देखि ५० मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ।पचासदेखि १०० मिमि पानी परेमा भारी वर्षा भनिन्छ अनि १०० मिमि नाघेको खण्डमा धेरै भारी वर्षा भनिन्छ। गत २४ घण्टामा उदयपुरमा सर्वाधिक १३८ मिमि पानी परेको छ भने दाङको कोइलाबास क्षेत्रमा ११३ मिमि पानी परेको छ। त्यस्तै लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ,भट्टराईले भने। शुक्रवार साँझदेखि सुदूरपश्चिम क्षेत्रमा पानी धेरै पर्न सक्ने उनले बताए।
यो वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेगरान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुनसक्नेू भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।अहिले मनसुनको न्यूनचापीय रेखा तराईनजिक छ। त्यसको अतिरिक्त अहिले भारतको उत्तर प्रदेश क्षेत्रमा केही दिनदेखि विकसित भएको अर्को न्यूनचापीय क्षेत्र बिहीवारदेखि डिप्रेशनमा परिणत भएको छ,उनले भने। उनका अनुसार चाप निश्चित परिमाणभन्दा पनि कम भएमा त्यो न्यून चापबाट डिप्रेशन बन्न पुग्छ जसले पानी झन् धेरै पार्छ।