एक साता उपत्यकाको फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
1652782682.jpg)
काठमाडौं,५,साउन। सडक मर्मतको काम गर्नुपर्ने भएकाले आजदेखि एक साता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।
यसअघि उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता ऊाडी सञ्चालन नहुने भएको हो ।
शहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै कामपालाई केही दिन फोहरको गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागेको हो ।
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।
कामपाले बुधबार एक सूचना जारी गर्दै सोही अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरेको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ ।