काठमाडौंको फोहोर उठाउने विषयमा फेरि भयो १८ बुँदे सहमति

काठमाडौं/उपत्यको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ। यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो।
सहमतिअनुसार अब रातिको समयमा मात्रै फोहोर फाल्न पाइने छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ।
समझदारी पत्रमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गरेका छन्।
स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका १ का अध्यक्ष श्रीमानबहादुर तामाङ र २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन्।