बैतडीमा थप एक युवकको शव भेटियो

बैतडी, ३० पुस/बैतडीमा थप एक युवकको शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका–६, हिरापुर नजिक अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
शव सडेको अवस्थामा फेला परेको निरीक्षक शाहीले बताए । मृतकको शवसँगै दशरथचन्द नगरपालिका–१ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको शाहीले बताए । शवको केही भाग स्यालले खाएकाले पहिचान हुन नसकेको उनले बताए ।
बुधबार मात्रै सुर्नया गाउँपालिका–६ का डम्बरदत्त अवस्थीको शव जंगलमा फेला परेको थियो । मंसिर १४ गतेदेखि बेपत्ता उनको हत्या गरेको भन्दै सोही ठाउँका स्थानीय हरिश अवस्थीले स्विकार गरेका थिए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बैतडी प्रहरीले जनाएको छ ।