मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो हुँदै

काठमाडौँ,१०कार्तिक। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो आज हुँदै छ । प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी छन् । सभामा विश्वासको मतका लागि सबै तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विश्वासको मतसम्बन्धी मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । गत असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन् । यसअघि कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छिन् । बागमती प्रदेश सभामा १०९ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ । तर हाल सत्तारूढ नेकपा एमालेसँग ४३ मात्र सांसद छन् । उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ । तर यो सम्भव नदेखिएकाले मुख्यमन्त्री शाक्यको पद गुम्ने निश्चित जस्तै छ ।
सत्तारूढ गठबन्धनले यसअघि नै बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन् ।