धनगढी.१० असार । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहको गृह जिल्ला बाजुरामा अधिकांश बजेट विनियोजना भएको आरोप लागेको छ।
पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने योजनाको संख्या र रकम समेत धेरै रहेको पाइएको हो। अर्थ मन्त्री शाहको गृह जिल्ला तथा एमाले नेता भीम रावलको प्रभावका कारण अन्य जिल्लाको तुलनामा अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको प्रदेश सभा सदस्यहरुले बताएका छन्।
बाजुरा र अछामका पूर्वाधारका योजनाहरुमा रकमसमेत धेरै राखिएकाले बजेटमा समेत प्रदेशको अर्थ मन्त्री शाह र नेता रावलको प्रभाव देखिएको आरोप लागेको हो। प्रदेश सभा सदस्य भरतबहादुर खड्काले पूर्वाधारको बजेटमा आधार रकम अछाम र बाजुरा गएको बताए। उनले भने, ‘योजना प्रदेशको विकासको लागि छैन्। प्रदेशको सम्बृद्धिका लागि छैन्। कार्यकर्ता खुसी पार्न ल्याएको छ। कम्पनीहरुलाई खुसी पार्न ल्याएको हो।’ बाजुरा अर्थमन्त्री शाहको जिल्ला भएर बढी पूर्वाधारका योजनामा रकम गएको र अछाममा एमाले नेता भीम रावलको प्रभावले बढि बजेट गएको खड्काले बताए।
सुदूरपश्चिम सरकारका प्रादेशिक गौरवका सडकहरुमा समेत न्यून बजेट विनियोजन गरिएका बेला अछाम तथा बाजुराका पूर्वाधारका योजनाहरुमा भने धेरै रकम विनियोजन गरिएको हो। पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने अधिकांश योजनाहरुमा १० करोड बढी रकम विनियोजन गरिएको छ।