धनगढीः कैलालीमा मंगलबारदेखि निषेधाज्ञा खुकुलो पारिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले असार १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेसँगै मंगलबारदेखि खुकुलो पारिएको हो।
निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बन्द रहनेछन्। निजी सवारी साधन सञ्चालनमा भने जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। जोर बिजोर प्रणाली अन्तरगत नै ट्याक्सी र अटो बढीमा २ जना यात्रु राखेर सञ्चालन गर्न पाइनेछ।
अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधन सञ्चालनमा आएका छन्।
अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने निर्णयपछि बिहानदेखि खुलेका छन्।
यस्तै उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन्। यस्तै होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा ९खाना र खाजा लगेर जानुपर्ने० बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने छ।
यस्तै अब सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ। भने वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीको जारी निषेधाज्ञामा उल्लेख छ।तर सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्, भने विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन्।