काठमाडौँ,०७ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री दावी गर्न दिएको समय सकिएको छ ।
शुक्रवार ५ बजेसम्मको समय दिइएकोमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् ।
जसपाका सांसदसहित ओलीले १५३ संसदको समर्थन भएको दावी पेश गरेका छन् भने देउवाले माओवादी, उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका सांसद सहित १४९ को दावी पेश गरेका छन् ।
देउवाले लगेका १४९ सांसद मध्ये माधव नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, घनश्याम खतिवडा र गणेश पहाडीले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।
राष्ट्रपति कार्यालयले सांसदहरुको हस्ताक्षर जाँचबुझ गरेर मात्र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने स्रोतले बतायो ।
दुवै पक्षको दावीलाई हेरेर उपयुक्त निर्णयमा पुग्ने जानकारी राष्ट्रपति भण्डारीले गराएको भेटमा सहभागि नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।