धनगढी,०७ जेठ। संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार साँझ सकिँदैछ । शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेकी थिइन् ।
संविधानको धारा ७६ को ५ मा प्रतिनिधि सभाको कुनै सदस्यले आफूलाई बहुमत सदस्यको विश्वास छ भनेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि आग्रह गर्न सक्ने व्यवस्था छ ।
प्रधानमन्त्रीले विश्वासको मत या राजीनामा नगरी नयाँ प्रक्रिया आह्वान गरेको भनेर विरोध गरेका दलहरू छलफलमा जुटेका हुन् ।
नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाएको छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टीका नेता र अन्य दलका नेतासँग परामर्श गरिरहेका छन् ।
माओवादीले प्रधानमन्त्रीले राजीनामा या विश्वासको मत फेस नगरी नयाँ धारामा जान नमिल्ने बताएको छ ।
नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपा पनि आन्तरिक छलफलमा छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरू अहिले छलफलमा जुट्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दह्रो साथ दिएको जसपाको ठाकुर र महतो पक्षले हिजै बालुवाटारमा गएर अन्य दलसँग गठबन्धन नगर्ने बताइसकेको छ ।
प्रधानमन्त्रीले संसद् फेस या राजीनामा नगरी नयाँ प्रक्रिया शुरू गरेको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएपनि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भन्नु नै पद त्याग गरेको हुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै थापाले भनेका छन्, ‘मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ?’