काठमाडौं,१४माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस विरुद्धको खोपको अभियान शुभारम्भ गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभरका खोप केन्द्रमा एकसाथ शुभारम्भ गरेका हुन् ।
उक्त भर्चुअल शुभारम्भ बुधबार नै शुरु भएका १२० केन्द्रमा देखाइएको थियो । पहिलो दिन नै १२ हजार जनालाई खोप लगाइने पनि जनाइएको छ । पहिलो खोप भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाएका छन् ।
प्रधनमन्त्री ओलीले भारतबाट प्राप्त १० लाख खोपमार्फत लगाइएको खोपको शुभारम्भ गरेका हुन् । भारतप्रति उनले आभार पनि व्यक्त गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
छिट्टै भारतबाट थप खोप पनि पाउने उनले विश्वास गरेको बताएका छन् । ओलीले खोप लगाउन थाले पनि कोरोना नभागेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् । खानपानमा समेत विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।