पूर्वमाओवादी लडाकुलाई ‘लोकतन्त्र योद्धा’का रूपमा सम्मान गर्ने सरकारको निर्णय
झलक दवाडी
2077-10-12
काठमाडौं,१२माघ। जनयुद्धकालीन माओवादी लडाकुलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट उनीहरूलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेर अर्को रणनीतिक दकम चालेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाउने क्रममा प्रभावित भएका सबैलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो ।
मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ।
खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समितले सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहिद भएकाका परिवार, बेपत्ता पारिएकाका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, घाइते, विस्थापित, अपांगता भएकाहरूकाको विवरण संकलन गर्नेछ।
एक मन्त्रीका अनुसार समितिले उनीहरूलाई लोकतन्त्रको योद्धाका रूपमा सम्मान र परिचयपत्र वितरण गर्न अभिलेख संकलन गरी मापदण्डसहित प्रतिवेदन तयार पारेर सिफारिस गर्ने काम गर्नेछ।