-झलक दवाडी
धनगढी, ०३ माघ । माघी पर्व सकिय संगै धनगढी उपमहानगरपालिकाको फूलवारी स्थित थारु वस्तीमा नेतृत्व चयनको कार्य शुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी( नेकपा )प्रतिनिधि सभा सदस्य नारद मुनि रानाको आतिथ्यमा गरिएको उक्त कार्यक्रममा छेदुराम चौधरीलाई गाउँको भलमंसाका रुपमा सर्वसम्मत चयन गरिएको छ । वर्षभरी गरिएको कामको समिक्षा गर्ने र आउने वर्षको लागि कार्ययोजना बनाउने कार्य संगै गाउँ वस्तीको नेतृत्व चयन गर्ने या अनुमोदन गर्ने काम शुरु भएको हो । गाउँवासीले सर्वसहमत ढंगले नेतृत्व स्वरुप भल्मन्सा छनौट गर्ने प्रचलन थारु समुदायमा रहदै आएको छ ।
यसैबीच शनिवार धनगढी उपमहानगरपालिका – १४ सी गाउँका स्थानीयहरुले गाउँको पुरानै अगुवाहरुलाई पुनः एक वर्षको लागि अनुमोदन गरेका छन् । गाउँको सम्पन्न माघी मिलन कार्यक्रममार्फत गाउँ, समाजको लागि इमान्दारितापूर्वक योगदान दिदै आएको भन्दै पुरानै भल्मन्सा छेदुराम चौधरीलाई पुनः चयन गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का जिल्ला कमिटि सदस्य तथा गाउँका बुद्दिजिबि रामचन्द्र चौधरीका अनुसार भल्मन्सा छेदुराम चौधरी १६ औं पटक लगातार गाउँको भल्मन्सामा चयन भएका हुन् ।
प्रतिनिधि सभा सदस्य नारद मुनि रानाले आफ्नो फेसबूकमा फोटो हाल्दै बधाई तथा शुभकामना दिएका छन् । उनले लेखेका छन् , “धनगढी उपमहानगरपालिका वडा नम्मर १४ सी गाउँका अगुवा श्री छेदुराम चौधरी १६ औं पटक सर्वसम्मत भलमन्सा चयन हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना।” कार्यक्रममा बोल्दै थप्छन, “गाउँको मुखिया भलमन्सालाई कानुनले कुनै अधिकार दिएको छैन । र पनि, उनीहरू गाउँका झै–झगडा मिलाउँछन् । विकास निर्माणको अगुवाइ गर्छन् । त्यो जिम्मेवारी समुदायले भलमन्सालाई दिएको छ ।” उनले भने, “। कुनै बेला भलमन्सालाई गाउँका न्यायाधीश भनिन्थ्यो । किनभने, उसको निर्णय अन्तिम हुन्थ्यो । त्यसको मुख्य कारण भलमन्सा लोकतान्त्रिक प्रक्रियाबाट चयन हुुनु थियो । गाउँभरिका बासिन्दाले हात उठाएर प्रत्यक्ष मतदानमार्फत भलमन्सा छान्छन् । त्यसैले, कानुनले मान्यता नदिए पनि गाउँको विकास र झै–झगडा मिलाउने अधिकार भलममंसाले पाउँदै आएको छ ।” थारू समुदायमा पुर्खादेखि चल्दै आएको भलमन्सा प्रथाको महत्व अहिले पनि उत्तिकै रहेको छ । भलमन्सा तोकिसकेपछि समुदायका हरेक निर्णयहरु भलमन्साकै निर्देशन अनुसार हुने गरेको गाउँका अगुवा जगदिश चौधरीको भनाई छ । १६ औं पटक सम्म पनि आफुलाई जिम्मेवारीमा खटिन पाउदा खुसि लाग्नुको संगसंगै थप प्रभावकारी भएर लाग्ने भलमन्सा छेदुलाल चौधरीको भनाई छ । गाउँमा बर्षभरिका निर्णयहरु र समस्याहरुको सम्बोधन गरे वापत गाउलेहरुले भलमन्सालाई बार्षिक रुपमा पारिश्रमिक समेत दिने गरेका छन् ।