धनगढी,२८ पौष । ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल’का लागि आवेदन खुला भएको जनाएको हो ।
१६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तिमा ५ फिट ६ इन्च उचाई तथा युवतीको हकमा कम्तिमा ५ फिट २ इन्च उचाई हुनुपर्ने मुख्य प्रावधान राखिएको छ ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पाद गर्ने उद्देश्यले ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवा युवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतियोगिताका लागि पहिलो चरणको अडिसन अगामी माघ १० गते काठमाडौंमा आयोजना हुँदैछ । पहिले चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् ।
फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङ सम्बन्धी व्यक्तित्व विकाश, शारीरिक बनावट, मोडल हिँडाई, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न थिममा आधारित फोटो शुट, रनवे प्रस्तुतिकरणलगायत ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाखसहित उपाधिका साथमा दक्षिण कोरियामा सञ्चालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन् ।
यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्बिरको अवसर समेत प्राप्त हुने आयोजकले जनाएको छ ।