धनगढी, २८ मंसिर।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कम्युनिष्ट सरकारलाई विस्थापित गर्न फागुन चैतमा आन्दोलनको आधिबेहरी सिर्जना गर्ने बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपाली कांग्रेसको भोली देशभर हुने विरोध सभा सरकारलाई सच्चिन खबरदारीमात्रै भएको र फागुन चैतमा आन्दोलनको आधिबेहरी नै सिर्जना गर्ने बताएका हुन ।
यस्तै नेता साउदले कांग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रममात्रै भएको दाबी गरेका हुन् । ‘नेपाली कांग्रेस सरकारमा जाने हल्ला कपोकल्पित हो, भ्रम हो’ कांग्रेस सरकारमा जाने हल्लाबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेस सत्तामा जाने जसरी ¥युमर चलाइएको छ यो नेकपाको आन्तरिक लडाइँको एउटा पार्टमात्रै हो ।’
कांग्रेसका लागि सत्ता महत्वपूर्ण नभएको जिकिर गर्दै नेता साउदले जनताको आस्था र विश्वास जित्ने कुरा नै कांग्रेसका लागि महत्वपूर्ण भएको बताए ।
उनले नेकपाको सरकार प्रजातन्त्र बिरुद्ध उन्मुख भएको बताए । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको दुष्प्रयास सरकारको अधिनायकवादी कदम भएको नेता साउदले बताए ।
उनले सोमबार कांग्रेसले गर्न लागेको देशव्यापी विरोध प्रदर्शन सरकारको अधिनायकवादविरुद्ध केन्द्रित रहेको पनि बताए ।
“भोलिको विरोध प्रदर्शन कार्यक्रम सरकारको अधिनायकवादका विरुद्ध केन्द्रित छ,” नेता साउदले भने ।
पूर्वसिँचाईमन्त्री समेत रहेका नेता साउद सोमबार अछाममा हुन गइरहेको विरोध प्रदर्शनमा मुख्य वक्ताका रुपमा सहभागी हुँदैछन् ।