काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन यानिक करास्कोले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्यूरी समयमा करास्कोले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
बार्सिलोनाको यो सिजनको तेस्रो हार हो । पछिल्लो समय लिगमा कमजोर बनिरहेको बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । च्याम्पियन्स लिगमा राम्रो लयमा रहेको बार्सिलोना ला लिगामा भने कमजोर भएको छ ।
बार्सिलोनालाई पराजित गरेसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आठ खेल खेलेको एट्लेटिको २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ११ अंकसहित तालिकाको १० औं स्थानमा छ ।