काठमाडाैं २४, भदौ । श्वासप्रश्वासमा समस्या आएपछि बाराको कोल्हवी नगरपालिका–४ सपहीका २३ वर्षीय विक्रम चौधरीलाई आइतबार बिहान वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा भर्ना गरियो ।
त्यसको करिब एक घण्टापछि उनको स्वाब संकलन गरियो । पीसीआर परीक्षणको रिपोर्ट छिट्टै उपलब्ध गराइदिन परिवारले आग्रह गरिरहे । तर आइतबार रिपोर्ट आएन ।
अपराह्नपछि चौधरीको स्वास्थ्य अवस्था थप जटिल बन्यो । अस्पतालले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा सार्यो । यद्यपि उनको स्वास्थ्यमा सुधार आएन । अन्ततः साँझ ७ बजेतिर उनको आईसीयूमै मृत्यु भयो ।
बिहान ११ बजे अस्पताल पुर्याइएका विक्रमको पीसीआर रिपोर्ट नआएको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले करिब ८ घण्टा उपचारै नगरी आलटाल गरिरहे । विक्रमका दाजु अनिलले आईसीयूमा लामो समय राखिए पनि चिकित्सकहरूले भाइको नाडीसमेत नछामेको आरोप लगाए ।
‘उसको ज्यान ७ बजे गइसकेको थियो । हामीले धेरैपटक डाक्टरसाबहरूलाई विक्रमको स्वास्थ्य परीक्षण गरिदिन अनुनय–विनय गर्यौं,’ अनिलले भने, ‘विक्रमको मृत्युको २० मिनेटपछि मात्र चिकित्सकहरू आईसीयू कक्षमा पुगेका थिए । समयमै उपचार सुरु गरिएको भए भाइले अकालमा मृत्युवरण गर्नु पर्थेन होला ।’
मृत्युको भोलिपल्ट सोमबार मध्याह्नतिर मात्रै उनको पीसीआर परीक्षणको नतिजा आयो । जसमा उनलाई कोरोना संक्रमण नरहेको पुष्टि भयो । पीसीआर रिपोर्टमा मितिसमेत गलत उल्लेख गरिएको अनिलको भनाइ छ ।
‘रिपोर्टमा भदौ २३ गते लेखिएको छ, जबकि २२ गते नै उसको स्वाब लिइएको हो । यसबाट पनि थाहा हुन्छ कि सामान्य कुरा भनेर प्रयोगशालामा कतिसम्म लापरबाही गरिन्छ,’ उनले भने ।
सोमबार नै आएको दोस्रो पीसीआर परीक्षण रिपोर्टमा पनि विक्रमलाई कोरोना नरहेको उल्लेख छ । दोस्रो रिपोर्टमा भने मिति सच्याएर भदौ २२ नै उल्लेख गरिएको अनिलले बताए ।
विक्रमको उपचारमा सहयोगी भूमिका खेलेका वीरगन्जका सामाजिक अभियन्ता धिरज गुप्ताले आफूहरूले पटक–पटक प्रयास गर्दा पनि स्वाब परीक्षणको रिपोर्ट २४ घण्टापछि मात्रै दिइएको आरोप लगाए ।
‘आइतबार नै पीसीआर परीक्षणको रिपोर्ट दिइएको भए हामीले उनलाई अन्य अस्पतालमा लगेर पनि उपचार गर्थ्यौं । पीसीआर रिपोर्ट नभई अन्य अस्पतालले भर्ना लिनै मान्दैनन्,’ उनले भने, ‘अस्पताल प्रशासनको ढिलासुस्ती र चिकित्सकको चरम लापरबाहीले विक्रमको मृत्यु भएको हो ।’
विक्रम ठेक्कापट्टा व्यवसायमा संलग्न थिए । उनको मृत्युपछि समयमै उपचार नगरिएका कारण भाइको मृत्यु भएको भन्दै अनिलले नारायणी अस्पतालका चिकित्सकलाई कारबाहीको माग गरे । उनले सोमबार अस्पतालमा उजुरीसमेत दिएर घटनाको छानबिन गरी दोषी चिकित्सकलाई कारबाही गरिनुपर्ने माग राखेका हुन् ।
उनले पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत स्वास्थ्य मन्त्रालयमा पनि उजुरी पठाएर घटनाको छानबिन, दोषी चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्तिको मागसमेत गरेका छन् ।
नारायणी अस्पतालले भने विक्रमको मृत्यु कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण भएको दाबी गरेको छ । अस्पताल प्रशासनले अस्पतालका वरिष्ठ चिकित्सक रामपुकार साह संयोजक रहेको तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ । समितिमा अस्पतालका प्रवक्तासमेत रहेका डा. अतुलेशकुमार चौरसिया र डा. सरोज सिंह सदस्य छन् ।
डा. चौरसियाले समितिले छानबिन थालेको बताए । ‘हामीले छानबिनको काम थालिसकेका छौं,’ उनले भने, ‘आकस्मिक कक्ष र आईसीयू दुवैमा खटिएका जनशक्तिसँग आवश्यक सोधपुछ भइरहेको छ । सूक्ष्म ढंगले निष्पक्ष रूपमा अनुसन्धान गरिरहेका छौं ।’
प्रजिअ तामाङले पीडित परिवारको उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको बताए । ‘जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइसकेका छौं,’ उनले भने, ‘अब हामीलाई जे जस्तो निर्देशन प्राप्त हुन्छ, त्यसैअनुसार अघि बढ्छौं ।’
यसअघि पनि वीरगन्जमा कोरोना संक्रमित, शंकास्पद तथा अन्य रोग लागेका बिरामीले समेत समयमा उपचार नपाएर मृत्युवरण गर्नुपरेका घटना भइसकेका छन् ।