काठमाडौं,१७भदौ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ ।
मंगबालर काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको छलफलमा कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
तर, निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको छ ।
‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको छ । मोडालिटी तय भएपछि बुधबार थप निर्णय हुन्छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने ।
उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ आज० मध्यरातिबाट सकिँदैछ ।
होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ । सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।